पर्यटकको रोजाइ बन्दै चाँदनी

स्काई न्यूज / भदौ ४,सल्यान ।
सल्यानको लेखपोखरास्थित चाँदनी साततले गुफा पर्यटकको रोजाइ बन्दै गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा पर्ने चाँदनी साततले गुफा पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको हो । ७ ओटा तला भएको भन्ने पौराणिक कथन रहेको यस चाँदनी साततले गुफामा अहिलेसम्म पर्यटकहरू ३ ओटा तलासम्म पुग्ने गरेका छन् । चाँदी जस्तै टल्कने वस्तु, चमेरा, ढुंगे मादल, प्राकृतिक देवीदेवताका मूर्ती तथा आकृतिले सजिएको उक्त गुफाको संरक्षणका लागि स्थानीय सक्रिय भएर लागेसँगै यहाँसम्म घुम्न तथा अवलोकनका लागि आउने पर्यटकहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । आजभोलि शनिवार र चाडपर्वको समयमा चाँदनी गुफा आन्तरिक पर्यटकहरूले परिभराउ हुने गरेको गुफा संरक्षण समितिका अध्यक्ष यामबहादुर पुनले जानकारी दिए ।

उनका अनुसार सल्यान सहित आसपासका जिल्लाहरूबाट समेत पर्यटकहरू गुफासम्म घुम्न तथा अवलोकनका लागि आउने गर्दछन् । गुफाको संरक्षणका लागि निर्माण गरिएको पूर्वाधार विकासले पर्यटकहरूलाई आउजाउमा समेत टेवा पुगेको उनको भनाइ छ । गुफा संरक्षणका लागि पर्खाल निर्माण, सिँढी निर्माण, गुफाभित्र सोलार लडान, मोटरबाटो निर्माण, प्रतिक्षालय निर्माण लगायत संरचना निर्माणले गर्दा पर्यटकहरूलाई झन् सहजता थपेको उनको भनाइ छ । यो सँगै सिद्धबाबाको मन्दिर, ढुंगेपानी, ढुकढके ढुंगा, नागेश्वर मन्दिरलगायतले पनि पर्यटकहरूको आकर्षणमा थप मद्दत मिलेको उनको भनाइ छ । यसैबीच पर्यटन क्षेत्रको पूर्वाधार विकास गर्ने र प्राकृतिक तथा साँस्कृतिक सम्पदाले संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट डिभिजन वन कार्यालय सल्यानमार्फत चाँदनी गुफामा विभिन्न संरचना निर्माण गरिएको छ । चाँदनी गुफा प्रवेशद्वार, करीब १ किलोमिटर सिँढी र प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष पुनले जानकारी दिए । यसले पनि गुफाको संरक्षण र प्रचारप्रसार तथा विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको उनले बताए । अहिले गुफाको संरक्षण र प्रचारप्रसारका लागि स्थानीय सक्रिय भएर लागेका छन् ।

Translate »