प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन

स्काई न्यूज / भदौ २६,सुर्खेत ।
गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्र कालोपत्र गरेर आलोचना खेपेको कर्णाली प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा रहेका छन् । निर्देशनालयका इन्जिनीयर सूर्य शाहीले ती सडक योजनाहरू प्रदेश राजधानी शहरी सडक, जनता सडक र समपुरक प्याकेजअन्तर्गत निर्माण भइरहेको बताए । सडक निर्माणका लागि गत आर्थिक वर्ष पुस, माघ र जेठमा सम्झौता भएका थिए । तर कोरोना भाइरसविरुद्ध अपनाइएको लकडाउनका कारण निर्माण रोकिएको थियो ।

प्रदेश सरकारले निर्माण आयोजनालाई ‘विशेष पास’ उपलब्ध गराएपछि ती सबै आयोजना जेठदेखि सञ्चालनमा ल्याइएको हो । इन्जिनीयर शाहीका अनुसार रु ३७ करोड ८५ लाख लागतमा निर्माणाधीन सडक योजना चालू आवमै सम्पन्न गर्ने लक्ष्य छ । ‘लकडाउन खुकुलो भएसँगै आगामी असार मसान्तभित्र काम सक्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरिएको छ,’ उनले भने, ‘लकडाउनको शुरुआती चरणमा तीन महिना काम प्रभावित हुन पुग्यो, अहिले सबै आयोजनामा धमाधम काम भइरहेको छ ।’ हाल सडक विस्तार गरी नाली निर्माण र ग्राभेलको काम भइरहेको छ । निर्माणाधीनमध्ये ६० प्रतिशत सडक कालोपत्र गर्ने र बाँकी सडकको स्तरोन्नति गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्ष प्रदेश सरकारले सुर्खेत उपत्यकामा २५ किमी कालोपत्र गर्ने लक्ष्य लिएको छ ।

Translate »