वीरेन्द्रनगरमा भुस्याहा कुकुरको बिगबिगी

छाडा कुकुर व्यवस्थापनमा समस्या

स्काई न्यूज / भदौ २८, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भुस्याहा कुकुरको बिगविगी बढेको छ । बेवारिसे कुकुरको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको हो । वीरेन्द्रनगरमा गाईगोरुसँगै कुकुरको छाडापनबाट नगरबासीले विभिन्न समस्या खेप्नु परेको छ । मुगुबाट अध्ययनका लागि वीरेन्द्रनगर बुद्धपथमा बस्दै आएका दिपराज शाही एकदिन बेलुका घरबाट निस्किदा वरिपरी कुकुरै कुकुर देखेपछि आफू आक्रमण हुनबाट जोगिएको बताए । उनले त्यसको भोलिपल्टै भुस्याहा कुकुरको टोकाईबाट खुल्ला मैदानमा दौडिन जान लागेको एक युवा घाइते भएको जनाए । समयमै सम्बन्धित पक्षले यस्ता कुकुरको नियन्त्रण नगर्ने हो भने भविष्यमा ठूलो समस्या आउन सक्ने उनको भनाइ छ । मुगुका दिपराज जस्तै समस्या हाल दैनिकजसो वीरेन्द्रनगरका अधिकांश मुख्य तथा भित्री सडकहरुमा थुप्रैले बेहोरेका छन् र कतिपय आक्रमणको शिकार समेत बनेका छन् । कुकुरको संख्या अत्याधिक बढेको र सोही अनुपातमा कुकुरको टोकाईबाट घाईते बन्नेहरुको संख्या पनि बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् । यूनिस स्वास्थ्य क्लिनिकका अहेव सहदेव शर्माले पछिल्लो एक साता यता कुकुरको टोकाइबाट पीडित ३ जनाले उपचार लिएको बताए । उनले लकडाउन यता मात्रै करिब २८ जनाले कुकुरको टोकाइवाट उत्पन्न समस्याको उपचार गराएको जनाए । उनका अनुसार आफैले पालेका कुकुर तथा बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल र साइकल चालक सबैभन्दा बढी पीडित हुने गरेको पाइएको छ ।

यता वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बेबारिसे कुकुरसमस्यालाई गम्भिर रुपमा लिएपनि यसअघि समाधानका लागि कुनै योजना नबनेको बताईन् । उनले भनिन्, ‘घरपालुवा जनावरदेखि लिएर अन्य बाटोमा छाडिएका गाईगोरु लगायतको समस्या समाधान गर्न हामीले कानून तर्जुमा गर्दैछौं, छिट्टै समाधानका लागि कानूनी आधार तयार गरेर अगाडि बढ्छौं ।’ उनले त्यस्ता कुकुरको संख्या नियन्त्रण गर्न आउँदो साता आफ्ना पदाधिकारीसँगै अन्यसँग चरणवद्ध छलफल गरिने बताईन् । बेवारिसे कुकुर व्यवस्थापनका लागि नीतिगतरुपमै कार्य योजना बनाएर अगाडि बढ्न आवश्यक देखिएको उनी बताउँछिन् । ‘अहिले सम्म बेवारिसे कुकुर व्यवस्थापनका लागि स्पष्ट नीतिगत व्यवस्था नरहेकाले तत्काल कुनै एक्शन लिईएको छैन्,’ उनले भनिन्, ‘तर, अहिले छाडा कुकुर व्यवस्थामा समस्या देखिएकाले समाधानका लागि भोलि नै पशु शाखा अन्तर्गत बैठक बसेर कुनै उपाय निकाल्छौं ।’ उनले बेबारिसे कुकुर व्यवस्थापनका लागि अब दीर्घकालीन समाधान खोजिने बताईन् ।

बन्ध्याकरण नै एक उपाय
बेवारिसे कुकुरहरुको संख्या बढ्नुमा सरकारी निकायसँग दीर्घकालीन योजना नरहनु कारण भएको वीरेन्द्रनगर नगरपालिकाकै अनुगमन उपशाखा प्रमुख यामलाल गिरी बताउँछन् । उनले त्यस्ता कुकुर नियन्त्रणका नाममा कुकुरहरुलाई निर्ममतापूर्वक मार्ने वा अन्यत्र लगेर छाड्नुको साटो बन्ध्याकरण विधिमार्फत व्यवस्थापन गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘कुकुरहरुको बन्ध्याकरण गरिदिए त्यस्तो संख्या बढ्दैन । सबै कुकुरलाई गर्न नसकिएला तर भेटे जति कुकुरहरुको बन्ध्याकरण गरिनु पर्छ ।’ उनले पछिल्लो एक वर्षमा शहरका विभिन्न ठाउँमा बेबारिसे कुकुरको संख्या बढ्दै गईरहेको बताए । उनका अनुसार यकिन आँकडा नभएपनि वीरेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक हजार बेवारिसे कुकुरहरु रहेको अनुमान छ ।

 

कुकुरको बिगबिगी
वीरेन्द्रनगरमा आजभोलि गाईगोरुसँगै कुकुरको छाडापनले नगरवासी हैरान छन् । करिब ६० बिगाहको क्षेत्रफलमा फैलिएको वीरेन्द्रनगर क्षेत्रमा गाईगोरुसँगै कुकुरको छडापनका कारण यहाँका सर्वसाधारण नागरिक समस्या भोग्न बाध्य भएका हुन् । खासगरी बजार क्षेत्रका मुख्य चोक जहाँ मानिसको चहलपहल धेरै हुने ठाउँमा जताततैबाट बेबारिसे कुकुर आउने गरेकाले पैदलयात्रुले बढी सास्ती व्यहोर्नु परेको छ । ती छाडा कुकुरले दैनिक साँझपख पैदल हिड्ने यात्रु, साईकल तथा मोटरसाइकल सवारलाई बढी दुःख दिने गरेको पीडितहरु बताउँछन् । जताततै छाडा गाईगोरुसँगै कुकुरको बिगबिगी बढेपछि नगर क्षेत्र दुर्गन्धित बन्नुका साथै विभिन्न किसिमका रोगको संक्रमण फैलिने खतरा बढेको छ । हटियालाईनसँगै खोर्केलाईन, भैरवस्थान जाने बाटो, औद्योगिक क्षेत्र जाने बाटो, रत्नराज मार्ग, बुलबुले चोकदेखि नारायण पेट्रोलपम्म, सिम्ताली टोललगायतका क्षेत्रमा कुकुरको आतंक बढी हुने गरेको छ । नगरपालिकाभित्र जताततै गाईगोरुसँगै कुकुरको छाडापनले भइरहेको सास्तीप्रति नगरपालिकाले यसलाई अविलम्ब सम्बोधन गरेर नागरिकलाई सहजरुपमा हिडडुल गर्ने व्यवस्था मिलाउन राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले माग गरेको छ । मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले बेबारिसे कुकुर आतंकबाट आजित नागरिकको समस्याप्रति वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि बढी गम्भीर बन्न आग्रह गरिन् ।

Translate »