सल्यानमा फस्टाउँदै माछा पालन व्यवसाय
स्काई न्यूज / असोज १८,सल्यान ।
माछा पालनबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरुको आकर्षण बढ्दै गएको छ । थोरै लगानी र क्षेत्रफलमा धेरै आम्दानी हुने भएकाले माछा पालनतर्फ सल्यानका किसानहरुको आकर्षण बढ्न थालेको छ । माछा पालन गरेपछि आम्दानी राम्रो भएका कारण खेतीयोग्य जमिनमा माछापालन व्यवसाय गर्नेहरुको संख्या बढी रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । खेती र मजदुरी गर्नेहरुको संख्या कम हुँदै गएको र माछाको माग पनि बढेपछि पोखरी खनेर माछापालन गर्नेहरुको संख्या बढेको कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । कार्यालय प्रमुख उपाध्यायका अनुसार सल्यानमा पछिल्लो समय ९८ रोपनी क्षेत्रफलमा ३२ जना किसानले व्यावसायिक माछा पालन गर्दै आइरहेको छ । उनले भने ‘माछा पालन व्यवसायमा विदेशबाट आएका युवाहरु र केही विगतदेखि आफ्नै जग्गा जमिन भएका किसानहरुले गर्दै आइरहेका छन् ।’ माछा पालनबाट जिल्लामा वार्षिक ६० लाख आम्दानी भइरहेको कार्यालयले जनाएको छ । उत्पादन भएको माछा केही दाङ र सुर्खेत जाने भएपनि अधिकांश जिल्लामै खपत हुदै आइरहेको छ। जिल्लाबाट वार्षिक १२ मेट्रिकटन माछा उत्पादन भइरहेको उपाध्यायले बताए ।
थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने र एक पोखरीबाट ५ देखि ६ क्विन्टल माछा उत्पादन गर्न सकिने भएपछि किसानहरुको आकर्षण बढ्दै गएको उनको भनाई छ । बजारको माछाको माग बढेसँगै माछा पालनमा लागेको शारदा नगरपालिका वडा न ६ बरलाका किसान लोक बहादुर भण्डारीले बताए । बजारको माग अनुसार माछा पु¥याउन नसकेको उनको भनाई छ । माछा लिन पोखरीसम्म व्यापारीहरु आउने गरेको भण्डारीको भनाई छ । उनले भने ‘सुरुमा भात खाने खेतमा पोखरी खनेको भन्दै घरपरिवारबाटै विरोध भयो तर त्यही पोखरीबाट राम्रो आम्दानी भएपछि घरपरिवारले पनि सहयोग गरे ।’१ लाख लगानीबाट झन्डै तीन रोपनी क्षेत्रफलमा माछापालन सुरु गरेका भण्डारीले साउन महिनायता मात्र तीन लाख आम्दानी गरेको बताए । अन्नबाली भन्दा माछा पालनबाट राम्रो आम्दानी लिन सकिने अर्का किसान धन बहादुर बुढा मगरको भनाई छ । माछा पालन पनि नगदे बाली जस्तै भएको भन्दै बुढाले लकडाउन यता ७५ हजार आम्दानी भएको बताए । ६ हजार भुराबाट गत वर्ष ३ लाख आम्दानी गर्न सफल भएको बताउँदै उनले अन्य खेतीभन्दा माछापालन निकै राम्रो भएको बताए ।