पठनपाठन पनि जोर बिजोर प्रणालीमा

स्काई न्यूज / असोज १८, सुर्खेत ।
यातायात क्षेत्रमा लागु हुने जोरबिजोर प्रणाली सुर्खेतको चौकुने गाउँपालिकाले पठनपाठनमा लागु गरेको छ । गाउँपालिकाले कोरोना भाईरस संक्रमण फैलिन नदिन विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गरेको हो । दुई सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा जोर बिजोर प्रणाली मार्फत् पठनपाठन लागु गरिएको हो । धेरै विद्यार्थी संख्या भएका विद्यालयलाई दिन बिराएर जोर दिन जोर कक्षा र बिजोर दिन बिजोर कक्षा सञ्चालन गर्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए । उनका अनुसार एक सय जनासम्म विद्यार्थी रहेका विद्यालयमा भने बिहान र दिउँसो कक्षा सञ्चालन गराउन भनिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठन शुरु गराएको हो । यसअघि ‘टोल शिक्षा’ कार्यक्रम गाउँपालिकाकै निर्देशनमा सञ्चालनमा रहेका थिए । त्यस बेला बालविकास केन्द्र, १, २ र ३ कक्षा सम्मका बालबालिकालाई सिकाइ सहजीकरणमा सहभागी गराईएको थिएन । गाउँपालिकाले ती बालबालिकालाई सिकाई सामग्री उपलब्ध गराएर अभिभावक सिकाई सहजीकरण सम्बन्धी परामर्श सेवा मार्फत पठनपाठनलाई निरन्तरता दिएको थियो । त्यति मात्र होइन, घरमै पढ्ने व्यवस्था मिलाएर गाउँपालिकाले बालबालिकाको अध्ययनलाई निरन्तरता दिँदै आएको अध्यक्ष शाहीले बताए । उनका अनुसार अहिले विद्यालयमा नियमित पढाई शुरु भए यता ५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक बेन्च र अर्को बेन्चको दूरी एक मिटर कायम हुने गरी राख्ने र एक बेन्चमा बढीमा दुई जना राख्न पाउनेछन् । यता जीवनज्योति मावि गुटुका प्रधानाध्यापक ओमबहादुर दर्लामीका अनुसार बालविकास केन्द्र, १, २ र ३ कक्षासम्म नानीबाबुलाई विहान १० बजेदेखि साढे ११ बजेसम्म पठनपाठन हुने गरेको छ । त्यस्तै ४ देखि ५ कक्षासम्मका विद्यार्थीलाई विहान ११ बजेदेखि साढे १२ बजेसम्म, ६, ७ र ८ कक्षाका बाललबालिका विहान ८ बजेदेखि साढे १० बजेसम्म एवं ९ र १० कक्षाका विद्यार्थीलाई २ बजेदेखि ५ बजेसम्म पठनपाठन हुने गरेको छ । उनले ८, ९ र १० कक्षामा एक सय भन्दा बढी विद्यार्थी भएकाले आलोपालो प्रणालि मार्फत एक दिन विराएर पढाउने गरिएको जानकारी दिए । उनका अनुसार ५० देखि एक सय जना विद्यार्थी भएका कक्षाको पठनपाठन दुई चरणमा र एक सयदेखि माथि विद्यार्थी संख्या भएको हकमा दिन बिराएर आलोपालो रुपमा कक्षा सञ्चालन गरिएको छ ।

भौतिक दुरी कायमै
चौकुने गाउँपालिकाले एक बेन्च र अर्को बेन्चको दूरी एक मिटरको राखेर पढाई शुरु गरेको छ । सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सिकाई सहजीकरण सम्बन्धमा निर्देशन दिँदै विद्यार्थीबीच भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी पठनपाठनको गराउन गाउँपालिकाले असोज ११ गते नै निर्देशन दिएको हो । कोभिड–१९ को कारण अवरुद्ध विद्यार्थी सिकाइ प्रक्रिया शिक्षा मन्त्रालयको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको बैठक तथा कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने सम्बन्धमा सबै विद्यालयहरुलाई सुचित गरिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए । गाउँपालिकाले एक बेन्च र अर्काे बेन्चको दूरी कम्तीमा एक मिटरको हुनुपर्ने र एउटा बेन्चमा दुई जना मात्रै विद्यार्थी राख्न निर्देशन दिएको छ । विद्यालयमा स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यालय प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने तथा ज्वरो आएका तथा जुनसुकै बिरामीका लक्षण भएका विद्यार्थीलाई अभिभावकले नै विद्यालय नपठाउन आग्रह गरिएको छ । सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।