कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

असोज २१ , सुर्खेत ।
सल्यानमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । ११ वर्षदेखि फरार भएका साविकको कुपिण्डे गाविस–७ का ३६ वर्षीय हिमबहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वली जानकारी दिए । प्रवक्ता वलीका अनुसार बोहोराले २०६६ भदौ २७ गते बेलुका कुपिण्डे–१, को अमर प्राथमिक विद्यालय, पिपल चौताराको प्राङ्गणमा भलिबल खेल्ने क्रममा विवाद हुँदा कुपिण्डे–७ कै १८ वर्षीय (घटना हुँदा) रामलाल बिकको पेटमा छुरा प्रहार गरी फरार भएका थिए । उक्त छुरा प्रहारबाट घाइते बिकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही दिनदेखि फरार भएका बोहोरा बाँकेमा लुकीछिपी बसेको जानकारी पाएपछि प्रहरी टोलीले मंगलबार पक्राउ गरेको थियो । बोहोरालाई बुधबार जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रवक्ता वलीले बताए । (अनलाइन खबर)

 

Translate »