साढे दुई महिनादेखि अपहरित बालिकाको उद्धार

असोज २१,नेपालगञ्ज ।
बाँके प्रहरीले साढे दुई महिनादेखि अपहरित बालिकाको उद्धार गरेको छ । बर्दियाकी १७ वर्षीया बालिकालाई भारतको उत्तर प्रदेश राज्यको गौतम बुद्धनगर थाना बदालपुर दुजाना भन्ने ठाउँमा बन्धक बनाई राखिएको अवस्थामा उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । अपहरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा संलग्न बर्दियाको बढैयाताल गाउँपालिका–७ का २१ वर्षीय मुकेश यादव र ५५ वर्षीय हरिराम अहिरलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो । घटनामा संलग्न बढैयाताल–७ कै ३५ वर्षीय अगलेश यादव भने फरार रहेको प्रहरीले जनाएको छ । गत साउन २ गते बालिका घरमा एक्लै भएको र घरपरिवारका सदस्यहरु रोपाईं गर्न खेतमा गएको मौका छोपी बालिकालाई डर, त्रास देखाई अपहरण गरी भारत पुर्‍याइएकोमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी अपहरणमुक्त गराएको बताएको छ।

 

Translate »