अस्ट्रेलियाले नेपाललाई डेढ अर्ब दिने

असोज २५,अस्ट्रेलिया ।
अस्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा २ करोड १४ लाख डलर (करिब १ अर्ब ७० करोड )रुपैयाँ सहयोग दिने भएको छ । यो सहयोग रकम गत आर्थिक वर्षको भन्दा ९ लाख डलरले कम हो । अस्ट्रेलियाका ट्रेजरर जोस फ्राइडेनबर्गले जारी गरेको बजेट घोषणामा अस्ट्रेलियाले वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उपलब्ध गराइने रकममध्येबाट नेपाललाई उक्त रकम दिइने उल्लेख गरिएको छ । दक्षिण एसियालीलगायत विभिन्न देशलाई अस्ट्रेलियाले हरेक वर्ष सहयोग दिँदै आएको छ । दक्षिण एसियाली देशलाई घोषणा गरिएको आर्थिक सहयोगमा अस्ट्रेलियाले यस वर्ष गत वर्षको भन्दा करिब ७ करोडले कमी गरेको छ ।

सबैभन्दा धेरै कटौती अफगानिस्तानको सहयोगमा गरेको छ । गत वर्ष ८ करोड २० लाख सहयोग दिइएकामा यस वर्ष घटाएर ५ करोड ५३ लाखमा झारेको छ । यसैगरी पाकिस्तान र बंगलादेशलाई दिइने सहयोग समेत उल्लेख्य रुपमा घटाइएको छ । बजेट घोषणाअनुसार नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र दक्षिण तथा पश्चिम एसियाका ग्रामीण क्षेत्रका लागि १९ करोड ३० लाख डलर सहयोग घोषणा गरेको छ, जुन गत वर्ष २६ करोड ६० लाख डलर थियो । अस्ट्रेलियाली राजनीतिका जानकार सञ्चारविद् डा। भरतराज पौडेलले अस्ट्रेलियाले अफगानिस्तान, पाकिस्तानलगायतका देशको सहयोग रकम धेरै कटौती गरेको सन्दर्भमा नेपालको रकममा कटौती नहुनु खुसीको कुरा भएको दाबी गरे । (कान्तिपुर)

 

 

Translate »