नेकपा कर्णाली संसदीय दलमा विवाद उत्कर्षमा

प्रमुख सचेतकको जिम्मेवारी शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी

स्काई न्यूज /असोज २६, सुर्खेत ।
कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले नयाँ मोड लिएको छ । संसदीय दलको बैठक बोलाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलका नेता एवं माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यूले गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीबाट पदमुक्त गरेका छन् । उनले सोमबार शाहलाई पदमुक्त गरेको पत्र सार्वजनिक गर्दे कर्णाली प्रदेश सांसद सिताकुमारी नेपालीलाई उक्त पदमा नियुक्त गरिएको जानकारी दिएका हुन् । कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्ध आइतबार मात्र अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आफुविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले सोमबार एक पत्र लेख्दै शाहलाई प्रमुख सचेतकबाट हटाएको जानकारी दिएका छन् । सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नेकपाका १८ जना सांसदले दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता भए लगतै मुख्यमन्त्री शाहीले यस्तो कदम चालेका हुन् । बिगत केही समयदेखि कर्णाली सरकारभित्रै विवाद चुलिदै आईरहेको छ । यता निवर्तमान प्रदेश सभा प्रमुख सचेतक शाहले भने मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताए र उनले १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार नभएकाले प्रतिक्रिया दिए । उता मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी दिएको सीता कुमारी नेपालीले भने संसदीय दलको बैठक मंगलबार नबस्ने बताईन् ।


मंगलबार प्रस्ताव पारित गरिँदै
मुख्यमन्त्री शाही विरुद्ध परेको अविश्वासको प्रस्ताव भोलि नै पारित गर्ने तयारी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे प्रस्ताव माथिको छलफलका लागि बोलाईएको हो । प्रस्ताव माथि छलफलपछि मंगलबार साँझ नै निर्णयार्थ मतदानमा लैजाने तयारी भएको निर्वतमान नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले बताए । उनले मुख्यमन्त्री शाहीबाट जन अपेक्षा वमोजिमका कामहरु हुन नसकाले अविश्वासको प्रस्ताव दर्ता गराउनु परेको प्रतिक्रिया दिए । कर्णाली प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले लोकतान्त्रिक व्यवस्थामा ३३ मध्ये १८ जना सांसदले अविश्वास गर्नु भनेको बहुमत गुमाउनु भएको प्रतिक्रिया दिएका छन् । उनले आफु अहिले हुम्लामा रहेको र संसद बैठक आव्हान भए सुर्खेत आउने बताए । यस्तै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने मध्येका एक सांसद धर्मराज रेग्मीले मुख्यमन्त्री शाहीले अल्पमतमा परिसक्नु भएको जनाए । ‘दलका ३३ मध्ये १८ जनाले मुख्यमन्त्री विरुद्धमा हस्ताक्षर गरिसकेकोले नैतिकरुपमा उहाँ दलको नेता रहनु भएन,’ सांसद रेग्मीले भने, ‘अझै उहाँको विरुद्धमा हस्ताक्षर गर्ने थप सांसदहरुको संख्या देखिएकोले उहाँमा नैतिक प्रश्न अहम बनेको छ । दलको नेता पद अहिले निलम्बनको अवस्थामा छ ।’

दुई अध्यक्ष वीच छलफल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले राखेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको नेपका स्रोतले जनाकारी दिएको हो । छलफलमा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेको स्रोतको भनाइ छ ।

Translate »