बलात्कारका घटना मिलापत्र र छोपछाप पार्ने कुरा सह्य हुन सक्दैनन् : प्रधानमन्त्री

बलात्कारीलाई दण्ड दिने कडा कानुन ल्याउने प्रधानमन्त्रीको भनाइ

असोज ३०,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारका घटना मिलापत्र गराउने र छोपछाप पार्ने कुरा सह्य नहुने बताएका छन् । नेपाल प्रहरीको ६५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले बलात्कारका घटनामा कुनै पनि प्रलोभनमा नपर्न पनि प्रहरीलाई आग्रह गरेका छन् । मुलुकका विभिन्न ठाउँमा बलात्कारका घटनामा स्थानीय, पञ्चायतहरू मिलेर मिलापत्र गराउने कुरा सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यस्ता कार्य कुनै पनि हालतमा सह्य नहुने र अनुचित बताएका हुन् । बलात्कारजस्ता घटनाहरू मिलापत्रका नाममा छोपछाप पार्ने कुराहरू सैह्य र उचित हुन सक्दैनन्, प्रधानमन्त्री ओलीले भने,प्रहरीलाई सामाजिक दबाब आउन सक्छ । भनसुनहरू आउन सक्छन् । विभिन्न खालका प्रभावहरूको प्रयोग हुनसक्छ । यस्ता कुराबाट टाढा रहनुपर्छ । कानुन कार्यान्वयनका साथै दिगो शान्ति सुशासन कायम गर्नेतिर प्रहरी लाग्नुपर्छ ।

मुलुकमा कानुनी राजको स्थापना हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले त्यसका लागि प्रहरीको भूमिका महत्त्वपूर्ण हुने बताए । तेजाब आक्रमणविरुद्ध कडा कानुन ल्याएको स्मरण गराउँदै प्रधानमन्त्रीले बलात्कार जस्ता घटनामा पनि त्यस्तो कानुन ल्याउने बताए । बलात्कार जस्ता घटनाहरू कुनै हालतमा मानवोचित छैनन्, हुन सक्दैनन् । अत्यन्त निन्दनीय मानवताविरोधी कार्य हुन् । त्यसविरुद्ध निकट भविष्यमा अझ कडा कानुन ल्याउने सोचिरहेका छौं, उनले भने बलात्कारजस्ता घटनाविरुद्ध नागरिक समाज पनि अगाडि आउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । गृहमन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा दैनिक ७ वटा बलात्कारका घटना प्रहरी प्रशासनमा दर्ता हुने गरेका छन् । त्यसमा ठूलो संख्यामा बालिकाहरू रहेको पनि तथ्यांकमा उल्लेख छ । बलात्कारीलाई मृत्युदण्ड दिने कानुन निर्माण गर्नुपर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले कडा कानुन निर्माण गर्नेबारे जानकारी दिएका हुन् । महिला सांसद र अधिकारकर्मीहरूले कम्तीमा बालिकाका बलात्कारीलाई मृत्युदण्ड दिनेजस्ता कडा कानुन निर्माण गर्नुपर्ने भन्दै माग गर्दै आएका छन् ।

Translate »