एम्नेस्टीको सुर्खेतको संयोजकमा कविता खड्का


स्काई न्यूज / कार्तिक १, सुर्खेत ।
मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलको लयर्स समूह ६९, सुर्खेतको संयोजकमा कविता खड्का निर्विरोध निर्वाचित भएकी छिन् । वीरेन्द्रनगरमा शनिवार सम्पन्न संस्थाको सत्ताइसौं वार्षिक साधारणसभाले खड्काको नेतृत्वमा ९ सदस्यीय कार्य समितिलाई निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसंयोजकमा दुर्गाप्रसाद शर्मा, सचिव ध्रुवबहादुर सिंह, सह–सचिव, सागर खड्का, कोषाध्यक्षमा गीता बम तथा सदस्यमा जगतदल जनाला विक., दिपक बुढा, विवेक खनाल एवं सृजना जिसी रहेका छन् । सभाको उद्घाटन गर्दै एम्नेस्टी इन्टरनेशनल नेपालका केन्द्रीय महासचिव कर्ण कुँवरले एम्नेस्टी एक अभियानमूलक संस्था भएकाले मानव अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय स्तरमा पनि समूहहरुको भूमिका महत्वपूर्ण हुने हुँदा सबैलाई मानव अधिकारको अभियानमा सहभागि भईदिन आग्रह गरे । इन्टरनेशनलका केन्द्रीय सदस्य गोविन्द वाग्लेले अहिले कोरोना महामारीको समयमा मानव अधिकार हनन्का घटनाहरु बढ्दै गएको बताउँदै यस्तो विसम परिस्थितिमा समेत एम्नेस्टीका अभियान्ताहरु सक्रियता पूर्वक जुटन आवश्यक रहेको औल्याए । एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतका संयोजक हरिलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समूहका पूर्व संयोजक देवेन्द्रकुमार सेजुवाल, समूह २ का संयोजक भरत पन्त, काँक्रेविहार युथ नेटवर्कका संयोजक महेन्द्रविक्रम खड्का लगायतले भनाइ राखेका थिए ।

Translate »