‘स्पट कार्वाही’ मा जुट्यो वीनपा

चाडपर्व लक्षित बजार अनुगमन


स्काई न्यूज /कार्तिक २, सुर्खेत ।
चाडपर्व नजिकिएसँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अहिले बजार अनुगमनमा केन्द्रित भएको छ । वीनपाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको गुणस्तर, नापतौल एवं कालाबजारी गर्ने माथि निगरानी तथा नियन्त्रण गर्नका लागि अनुगमनलाई प्रभावकारी बनाएको हो । वीनपाका बजार अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेल नेतृत्वको बजार अनुगमन टोलीले आइतबार हटियालाईन, ऐरीचोक एवं बाङ्गेसीमलका पसलहरुमा छट्के अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीलाई खासै कैफियत नभेटिएको भएपनि केही पसलहरु ढक, तराजुको कागजात दुरुस्त (अद्यावधिक) नगरेको पाईएको पौडेलले बताए । ‘केही किराना पसलहरुले ढक, तराजु प्रमामित गरेको कागजात अद्यावधिक नगरेको पाईयो,’ उनले भने, ‘त्यस्ता विक्रेतालाई ३ देखि ७ दिनभित्र नापतौल कार्यालयमा गएर कागजात अद्याविध गरेर नगरपालिकामा उपस्थिति हुन निर्देशन दिएका छौं ।’ उनले वीरेन्द्रनगरमा उपभोक्ताको हकm हित एवं अधिकारलाई सुरक्षित राख्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने बारेमा विभिन्न माध्यमबाट जानकारी दिँदै आएकाले ठूला कैफियतका पसलहरु कमै रहेको जनाए । उनले बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमन टोलीले ‘स्पट कारवाही’ गर्ने बताए ।

उपभोक्ताको साथ खेलवाड गर्ने विक्रेतालाई बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन अनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवानासँगै जेल सजायको व्यवस्था रहेको उनको भनाइ छ । वीनपाको अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन् । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै लक्षित अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाइएको उनले जनाए । अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन शुरु गर्न निर्देशन दिइएको वीनपाका उपप्रमुख तथा बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष मोहनमाया ढकालले बताईन् । उनले वीरेन्द्रनगरका सबै वडाहरुमा अनुगमन टोली परिचालन गरिएकाले कानून विपरित व्यापार, व्यवसाय नगर्न सुझाव दिईन् । ‘अनुगमन टोलीसँगै सबै वडाहरुलाई उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको आपूर्ति सन्तुलन तथा मूल्य नियन्त्रणमा समेत ध्यान दिन अनुरोध गरेका छौं,’ उनले भनिन्, ‘बजार अनुगमन व्यवसायीलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएकाले जवाफदेहितासहितको व्यापार, व्यवसायमा जोड दिएका छौं ।’

उनले चार्डपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा वीरेन्द्रनगरका बजार क्षेत्रलाई केन्द्रित गरिएको जनाईन् । ‘सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालन गरीने भएकाले सबै व्यवसायीलाई जिम्मेवारीका साथ पालना गरि दिनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भनिन्, ‘वीनपाबाट गरिने सबै अनुगमन दण्डात्मक हिसावले मात्र नबुझ्न आग्रह गर्दछु । उपभोक्ता हित संरक्षणका लागि जनचेतनामुलक हिसावले समेत बुझ्न सकिन्छ ।’ विशेष गरेर चाडवाडको अवसरमा अखाद्य वस्तु विक्रि हुने, अधिकतम मुल्य भन्दा बढी मुल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै वीनपाले बजार अनुगमन सुरु गरेको हो । यता उपभोक्ताकर्मीहरुले भने हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै विभिन्न निकायबाट कर्मकाण्डी बजार अनुगमनलाई तिब्रता दिएपनि कारवाही भने फितलो हुने गरेको गुनासो गरेका छन् । बजार अनुगमनमा वीनपासँगै जिल्ला प्रशासन कार्यालय, विषय विशेषज्ञ, पत्रकार, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ, तथा नगर प्रहरीको सहभागिता रहने गरेको छ ।

Translate »