२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

ओली र दाहालबीच कर्णालीको विवादबारे छलफल



कात्तिक ५,काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नेकपाको कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशको समस्या समाधानका सम्बन्धमा छलफल भएको र चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।सहमति अनुसार प्रमुख सचेतकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रुपमा सचेतकका कायम गर्ने, मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव फिर्ता लिने तथा अन्य विषय सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको थापाको प्रेस नोटमा उल्लेख छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने तथा प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पाटी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको जनाए। संयोजक सापकोटाले थप भ्रममा नपर्न आग्रह गरे। यसअघि कर्णाली प्रदेशमा देखिएको समस्याका बारेमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालले त्यहाँका नेताहरुसँग अलगअलग छलफल गरे। (रासस)

प्रकाशित मिति : २०७७ कात्तिक ५ गते बुधबार
Translate »