२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

‘नेपाल’ मात्रै लेख्न निर्देशन



कार्तिक २२, काठमाडौं । सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ मात्रै लेख्न निर्देशन दिएको छ। गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा नेपाल मात्रै लेख्न निर्देशन दिएको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय द्वारा गत असोज २८ मा जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’मात्र लेख्नुपर्ने भएको उल्लेख गरिएको छ। त्यसैगरी अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपिएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानुन मन्त्रालयको परिपत्रमा उल्लेख छ।

सरकारले नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्र लेख्ने भनी गरेको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरेका छन्। उनले ट्विटरमार्फत शुक्रबार सरकारको उक्त निर्णय ठीक रहेको भन्दै नेपालको नामको अगाडि विशेषण थप्न आवश्यक नभएको बताए। थापाले प्राचीनकालदेखि नै देशको नाम नेपाल रहेको पनि बताएका छन्।

नेपालको सात दशक लामो संवैधानिक इतिहासमा पहिलोपटक २०७२ सालमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले जारी गरेको संविधानमा नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ भनी उल्लेख गरिएको थियो।

नेपालको संविधानको नाम ‘नेपालको संविधान’ भनिएको छ। तर, संविधानको धारा ४ मा ‘नेपाल राज्य’ को परिभाषा दिँदै यस्तो भनिएको छ, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।’ तर सरकारले त्यसको स्थानमा नेपाल मात्रै लेख्न निर्देशन दिएको हो।

प्रकाशित मिति : २०७७ कात्तिक २२ गते शनिबार
Translate »