बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो

संविधानको सर्वोच्चता, विधि र पद्धतिको पालना गर्छु : गौतम

कार्तिक २६, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमविरुद्ध परेको संसद सदस्य अयोग्यतासम्बन्धि मुद्दाको आइतबार सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भने फरक मत राखेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्रिराज भट्टले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । सर्वोच्चको आदेशसँगै गौतमलाई मन्त्री बन्न कानूनी अड्चन हटेको छ ।


संविधानको सर्वोच्चता, विधि र पद्धतिको पालना गर्छु : गौतम
सार्वोच्च अदालतमा आफूविरुद्ध दायर रिटमाथि जारी भएको अन्तरिम आदेश खारेज भएपछि वामदेव गौतमले सहयोगी र कानुन व्यवसायीलाई धन्यवाद दिएका छन्। गौतमले आफ्नो पक्षमा बहस गर्ने कानुन व्यवसायी र सहयोगीलाई विज्ञप्ति सार्वजनिक गर्दै धन्यवाद दिएका हुन् । गौतमलाई राष्ट्रियसभामा मनोनित गरेको भन्दै दायर रिटमाथि भएको अन्तरिम आदेश जारी भएको थियो । बुधबार संवैधानिक इजलासले उक्त आदेश खारेज गरेपछि उनले यो खुशी व्यक्त गरेका हुन् । गौतमले यो विषय कुनै पद र प्रतिष्ठासँग नगाँसिएको भन्दै केही व्यक्ति विधि र पद्धतिका कुरालाई विषयान्तर गरेर क्रियाशील भएको आरोप लगाएका छन् । उनले आफू संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढ रहेको बताएका छन् । ‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए’, गौतमले भनेका छन्, ‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।’

Translate »