क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेस गर्न निर्देशन

कात्तिक २८,सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेस गर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी सम्पूर्ण कागजात पेस गर्न निर्देश गरेको हो । गृह मन्त्रालयले नदीजन्य पदार्थ उत्खननसम्बन्धी अवैध रूपले सञ्चालनमा रहेका उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासनले पहिलो चरणमा उद्योग दर्ता तथा नवीकरणसँग सम्बन्धित सबै कागजात मागेको हो । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले दर्ता प्रमाणपत्र पेश गर्न अनुरोध गरिएको र यदि कानूनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइए त्यस्ता उद्योगलाई तत्काल बन्द गरिने बताए । जिल्लाका विभिन्न नदी किनारमा दर्ताबिनै व्यवसायीले बालुवा, ढुंगा–गिटी उत्खनन्, संकलन, प्रशोधन र बिक्री वितरण गर्दै आएका छन् । यसअघि कर्णाली प्रदेश सरकारले पनि क्रसर उद्योगको अनुगमन गर्न मन्त्रीस्तरीय समिति गठन गरेको थियो । (रासस)
