हुम्लामा हिमपात, जनजिवन प्रभावित

मंसिर २, सिमकोट ।
हुम्लामा दुई दिन लगातार हिमपात हुँदा जनजिवन प्रभावित भएको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । हिमपातका कारण सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् । जिल्लामा आइतवार र सोमवार दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको स्थानिय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । आइतवार बिहानै हिमपात हुँदा किसान भने खुशी भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । सोमवार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानिय कमल भण्डारीले बताए । लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताए । मंगलवार बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।

Translate »