विद्यालय खोल्ने जिम्मा पालिकालाई

मंसिर ३,काठमाडौँ ।
कोरोना संक्रमणको जोखिम झनै बढिरहेका बेला सरकारले भने स्थानीय तहले स्कुल खोल्न र बन्द गर्न सक्ने गरी विद्यालय पुनः सञ्चालन कार्यविधि ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको कार्यविधिमा स्थानीय तहले अवस्था हेरेर विद्यालय सञ्चालनमा ल्याउन र संक्रमण बढे बन्द गराउनसमेत सक्ने उल्लेख छ । विद्यालय खोल्नुअघि जिल्लास्थित संकट व्यवस्थापन केन्द्रसँग अनिवार्य समन्वय गर्नुपर्नेछ । यसअघि केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनले रोक लगाएका थिए । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार केन्द्र सरकार, स्वास्थ्य मन्त्रालयलगायत निकायले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।

विद्यालय पुनः बन्द गराउनुपर्ने अवस्था आए वैकल्पिक सिकाइ क्रियाकलापलाई निरन्तरता दिनुपर्नेछ । शिक्षाविद्हरूले भने एकैपटक खोल्ने र बन्द गर्नेभन्दा पनि स्थानीय परिवेशअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिँदै आएका थिए । कार्यविधिमा सबै विद्यार्थी र एक कक्षा साबिकको जस्तै गरी सञ्चालन गर्न सकिने, कक्षा र तहअनुसार फरक समय र सिफ्टमा सञ्चालन गर्ने, घण्टी छोट्याउने, फरकरफरक समयमा कक्षा चलाउने, दिनअनुसार आलोपालो पढाउने, एउटै कक्षामा पनि सिफ्ट लागू गर्ने, साताको केही दिन वा केही घण्टा मात्र कक्षा सञ्चालन गर्ने उल्लेख छ । यसबाहेक पनि स्थानीय तहले आफू अनुकूल कक्षा सञ्चालनको मोडालिटी तय गर्न सक्नेछन् ।

 

Translate »