सिमा सुरक्षा हिल्सामा खटिएको प्रहरी चौकी सदरमुकाम फर्कियो

मंसिर ४,हुम्ला ।
चीन–नेपाल सिमा सुरक्षामा खटिएको प्रहरी चौकी हिल्साको टोली सदरमुकाम सिमकोट फर्किएको छ । चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा रहेको प्रहरी चौकी चिसो माइनसमा पुगेपछि सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए । प्रहरी नायव निरिक्षक जङगबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मंगलबार सदरमुकाम सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुवेदीले बताए । कार्तिक महिनाको मध्यदेखि हुम्लामा चिसो बढने भएकोले हिमालपारीको सुनखानी र हिल्सा प्रहरीचौकी सदरमुकाम सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हाल हिल्सा नाका सीमा सुरक्षामा खटिएका सश्स्त्र प्रहरीको इन्स्पेक्टर सुरज केसीको नेतृत्वमा २२ जना सशस्त्र प्रहरी र १२ जना स्थानीयबासीहरु हिल्सा नाकामा रहेका छन् ।
