२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 22, 2026

सल्यानमा धान–मकै उत्पादन बढ्यो

गतवर्षको तुलनामा धान १.२५ प्रतिशत, मकै १५.६६ प्रतिशत बढी उत्पादन


स्काई न्यूज / मंसिर ७,सल्यान ।
सल्यानमा यस वर्ष मुख्य खाद्यान्न उत्पादन बढेको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लाभर धान र मकैको उत्पादनमा वृद्धि भएको हो । कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा धान उत्पादन १ दशमलव २५ प्रतिशत र मकै उत्पादन १५ दशमलव ६६ प्रतिशतले बढेको छ । यस वर्ष जिल्लाभर १९ हजार ४० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा ६८ हजार ५४४ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यस वर्ष ७ हजार ७६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २९ हजार ७१९ मेट्रिक टन उत्पादन भएको छ । यस्तै ६ हेक्टर क्षेत्रफलमा गरिएको घैया धान १६ मेट्रिकटन उत्पादन भएको छ । गतवर्ष जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो, जसबाट २९ हजार ३९३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गतवर्षको तुलनामा बढी क्षेत्रफलमा धानखेती गरिनु, समयमै धान रोपिनु, हाइब्रिड जातको बीउको प्रयोग, सिँचाइको सुविधा लगायत कारण जिल्लाभर धान उत्पादन बढेको कार्यालयले बताएको छ । यसैगरी जिल्लामा यस वर्ष मकै उत्पादन पनि बढेको छ । जिल्लाभर १९ हजार २५ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा ५९ हजार २६१ मेट्रिक टन मकै उत्पादन भएको थियो । कोरोनाका कारण शहरबाट नागरिक गाउँ फर्किएर कृषि कार्यमा लाग्नु, तरकारीले प्रख्यात कपुरकोट क्षेत्रमा यस वर्ष बर्खे तरकारीको सट्टा मकै लगाइनु जस्ता कारण मकैको उत्पादन बढेको सूचना अधिकारी बस्नेतले बताए । ‘उन्नत जातको मकैको बीउ वितरण गरिनु, आवश्यक ज्ञान प्रदान गरिनु तथा गतवर्षको तुलनामा बढी क्षेत्रफलमा खेती गरिएकाले पनि यस वर्ष मकै उत्पादनमा वृद्धि भएको हो,’ उनले भने, ‘जिल्लामा मकै प्रशस्त मात्रामा उत्पादन हुन्छ, उत्पादित मकै स्थानीयस्तरमा खपत भएर केही जिल्ला बाहिर पनि निकासी हुने गरेको छ । कृषि विकास कार्यालयले केही समयअघि सार्वजनिक गरेको तथ्यांकले सल्यान खाद्यान्नमा आत्मनिर्भर देखिएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर ७ गते आइतबार
Translate »