भेरी करिडोरअन्तर्गतका दर्जनौ पुल निर्माण सम्पन्न

मंसिर ७, जाजरकोट ।
भेरी करिडोरअन्तर्गत छेडा–खलंगा सडकमा दर्जनौ पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिए । पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा भत्किएका सडक मर्मतका लागि बोलपत्र आह्वान गरिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण सम्पन्न भएसँगै सडक डिभिजन कार्यालय चौरजहारीले छेडाबाट खलंगासम्मको दर्जन ठाउँमा भत्किएको सडक निर्माणका लागि प्रक्रिया शुरु गरेको हो । भेरी करिडोरअन्तर्गत छेडा–खलंगा सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो ।

रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलंगा सडकखण्डका ६ ओटा पुल बनाउने गरी रू. २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलंगा खण्डमा निर्माणाधीन ६ ओटा पुल निर्माण भएका हुन् । दुई चरणमा मर्मत गर्नका लागि काम शुरु गर्न लागेको डिभिजन प्रमुख भट्टले जानकारी दिए । सडक सञ्चालनमा आएको लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण अगाडि बढेको छ । नलगाडको झुर्मेखोलामा मोटरेबल पुल निर्माण पूरा भइसकेको छ ।  नलगाड नदीमा काम शुरु गर्न लागिएको छ । यस सडकखण्डको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सात ओटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आह्वान भई काम शुरु भएको डिभिजनका प्रमुख भट्टले बताए । उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउर), त्राँत्रगाडखोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात ओटा पुल ३० महीनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए ।

त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ, छलगाड र करपगाडमा पनि मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रमुख भट्टको भनाइ छ । एक वर्षभित्र निर्माण पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको छ ।  सडक निर्माण शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि सडक कालोपत्रको काम शुरु गरिएको छ । अहिले रिम्नासम्म कालोपत्र गर्नका लागि कच्ची कटान गरी ग्रेट मिलाउने काम भएको छ । यो सडक भारतको रुपैडिया र चीनको मरिम्ला धो जोड्ने मुख्य रणनीतिक सडक हो । पुल नहुँदा यातायात सञ्चालनमा निकै कठिन भइरहेको छ । पुल बनेपछि बाह्रै महीना यातायात सञ्चालनमा सहजता आउने स्थानीयवासीको भनाइ छ । पाँच वर्षअघि कालोपत्र भएको यहाँका सडकमा पुल नहुँदा खोलामा यात्रामा अवरोध हुँदै आएको थियो । नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना र डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागिसमेत सघाउ पुग्ने छ । त्यस्तै भेरी ‘ए’लगायतका आयोजनाको डीपीआरको कामका लागि सामग्री ल्याउन सजिलो भएको छ । त्यस्तै पश्चिम छेडाबाट जुनिचाँदे गाउँपालिका र कालीमटी–लिम्सासम्म यातायातका साधन सञ्चालनका लागि यातायात व्यवस्था विभाग कर्णाली प्रदेशले स्वीकृती दिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

Translate »