सिंजाको हिमा नदीमा ४४ लाखको ट्रस पुल निर्माण

सागर परियार / मंसिर ९,जुम्ला ।
दुईहप्ता पहिले ५ करोड लागतमा पक्की पूल निर्माण शुरु गरेको सिंजा गाउँपालिकाले भर्खरै ट्रस पूल निर्माण सम्पन्न गरेको छ । त्रिपक्षीय समन्वयमा सिंजा गाउँपालिका १ थार्पीवाडास्थित हिमा नदीमाथि ३२ मिटर लामो स्टिलको ट्रस पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालय जुम्ला, सिंजा गाउँपालिका र समुदायको समन्वयमा पुल निर्माण गरिएको हो । जसमा पूर्वाधार विकास कार्यालय जुम्लाको ४१ लाख ८३ हजार ८ सय ९२ रुपैयाँ, सिंजा गाउँपालिकाको १ लाख ३२ हजार र समुदायको स्थानीय निर्माण सामग्री बराबर ८८ हजार ८१ रुपैयाँ गरी ४४ लाख ३ हजार ९ सय ७३ रुपैयाँ लागतमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

पूर्वाधार विकास नै समृद्धिको आधार भन्ने लक्ष्यका साथ दुर्गमबस्तीलाई राजमार्ग संग जोड्न पक्की पूल, ट्रस पुल निर्माण तथा सडक ग्राभेललाई प्रथामिकता दिएको अध्यक्ष रावलको भनाई छ । ट्रस पुलबाट सिंजा गाउँपालिका १ का १ सय ३५ घरधुरीका ९ सय ५७ जना लाभान्वित हुने भएका छन् । २०७६ पुस महिनाबाट पुल निर्माणको सम्झौता भई ०७७ अषाढ मसान्तमा निर्माण सम्पन्न भएको छ । ट्रस पुल निर्माणसँगै सिंजा गाउँपालिकाको हिमा नदीमाथि दुई पक्की पुल तथा एक ट्रस पुल गरी तीन वटा पूल हुने छन् । सिंजा गाउँपालिका ६ वडामा विभाजित छ । यहाँका सबै वडामा सडक पुगिसकेको छन् । ६ नम्बर वडाबाहेक अरू वडाका केही सडक आरसीसी र ग्राभेल समेत भइसकेका छन् भने, सडक सुचारु गर्न, राजमार्गसँग जोड्न पुल निर्माण द्रुतगतिमा भईरहेको छ ।

 

Translate »