चौकुनेका चार युवा काँग्रेस र राप्रपा छोडेर नेकपा प्रवेश


स्काई न्यूज /मंसिर १५, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका चार जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको उपस्थितिमा शनिबार चौकुने गाउँपालिका–७, गुटुमा नेपाली काँग्रेस छोडेर हरिबहादुर बुढाक्षेत्री, धनबहादुर पुलामी, धर्मराज पुलामी र राप्रपा छोडेर प्रताप विसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सदस्यता ग्रहण गरेका हुन् । काँग्रेस र राप्रपा छोडेर नेकपा प्रवेश गरेका ती युवाहरुलाई राज्यमन्त्री रावतले स्वागत गर्दे भने, ‘मेहनत र ईमानदारी सर्वोत्तम नीति रहेकाले उपयुक्त व्यक्तिलाई अवसर अवश्यक मिल्छ । तर, कतिपयत परिस्थितिमा सोचे जस्तो र देखेजस्तो नहुन सक्छ । यसका वावजुद निरन्तर पवित्र मनले नागरिकको सेवामा जुट्न म सबैलाई आग्रह गर्दछु ।’ उनले राजनीति एक निरन्तर चलिरहने प्रक्रिया भएकाले आफ्नो जीवनमा निरास, विश्राम तथा आक्रोश नआउन दिन तर्फ सचेत रहन औल्याए ।

नवप्रवेशी कार्यक्रमा चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही, उपाध्यक्ष निर्मला राना, नेकपा चौकुनेका प्रभावशाली युवा नेता तथा ७, नम्वर वडाअध्यक्ष अम्मरबहादुर विसी एवं नेकपा अर्का युवा नेता गोरखबहादुर शाहीलगायतले नवप्रवेशीलाई स्वागत तथा बधाई दिएका थिए । यता नवप्रवेशी युवाहरुले काँग्रेस र राप्रपामा उपयुक्त स्थान र भविष्य नदेखेपछि नेकपामा प्रवेश गरेको बताए । उनीहरुले स्वतन्त्र रुपमा नागरिकको सेवा गर्न वर्तमान परिप्रेक्षमा नेकपा उपयुक्त प्लेटफर्म रहेकाले नेपाली काँग्रेस र राप्रपा छोडेर नेपाल कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गरेको जिकिर गरे ।

Translate »