सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

स्काई न्यूज/ मंसिर २१, सुर्खेत ।
सुर्खेतमा ढिलैभएपनि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा आफ्नो नाम समावेश गरेर सेवाको शुभारम्भ गरेका छन् । सुर्खेत निवासी प्रजिअ रेग्मीले जिल्लामा पहिलो पटक लागु गरिएको तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी परिचयपत्रको सेवाको शुरुवात गरेका हुन् । नागरिकहरुको बैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र प्रजिअ रेग्मीसँगै आम नागरिकका लागि आइतबारदेखि शुरु गरिएको हो । विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको शुरुवात गरेको छ । कोरोना महामारीका कारण जिल्लामा ढिलाई भएपनि शुरु प्रजिअ रेग्मीकै ईच्छा र प्रयासमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको हो । राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटनासँगै जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्नमा थप सहज हुनेछ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना वा विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गर्नमा थप टेवा पुग्ने अपेक्षा राखिएको छ ।
