


स्काई न्यूज /सुर्खेत २२, मंसिर ।
कर्णालीप्रदेश सभाका सभामुख राजबहादुर शाहीले मानव अधिकार रक्षकको संरक्षणका लागि प्रदेश सभामा विशेष समिति बनाउने बताएका छन् । इन्सेक कर्णाली प्रदेशले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार संरक्षण सम्बद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक कार्यशालामा बोल्दै सभामुख शाहीले मानव अधिकारकर्मीको अधिकार संरक्षणका लागि प्रदेश सभामार्फत प्रदेश सरकारको ध्यानाकषर्ण गराउने जनाए । ‘आमनागरिकले सुरक्षा अनुभुति हुने गरी कानून निमार्ण गर्न प्रदेश सभा लागि परेको छ,’ उनले भने, ‘मानव अधिकारको संरक्षण सम्बद्र्धन तथा समृद्धिका लागि विशेष समिति बनाउने योजनामा छौं ।’ कार्यक्रममा प्रदेश सभा सदस्य राजु नेपालीले अर्काको अधिकारको बारेमा बोल्ने मानव अधिकार रक्षकको संरक्षण नभएसम्म मानव अधिकारको संरक्षण सम्बद्र्धन हुन नसक्ने बताईन् । उनले मानव अधिकार रक्षकहरुको अधिकार संरक्षण हुने कानून निमार्ण गर्न प्रदेश सरकार तयार रहेको जनाईन् । कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धरले मानव अधिकार रक्षकहरुको संरक्षण सम्बद्र्धन गर्ने प्रमुख दायित्व राज्यको भएकाले मानवअधिकार मैत्री कानून निमार्ण गर्नेतर्फ कर्णालीप्रदेश सभाप्रतिबद्धभई लाग्नु पर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदी, मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसी, मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष पिताम्बर ढकाल, उच्च बार एसोसियसनका अध्यक्ष उत्तम आचार्य, मप विश्वविद्यालयका उपप्रध्यापक ललितजङ्ग शाही, दलित गैर सरकारी संस्था महासंघका उपमहासचिव सञ्जुसिं बिक, सचिव नारायण बिक, महिला अधिकारकर्मी मधुरानी ढकाल, सितलासिंह राठौर र समिनाबानु लगायतले धारणा राखेका थिए ।












