वातावरणका उत्कृष्ट कर्मचारी पुरस्कृत

स्काई न्यूज /मंसिर २९, सुर्खेत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । संस्थाले आफ्नो १८ औं वार्षिक साधारण सभाको अवसर पारेर पाँच जना उत्कृष्ट कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको हो । सभामा शैक्षिक सत्र २०७६ को एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने पाँच जना शेयर सदस्यका छोराछोरीलाई समेत उच्च शिक्षा छात्रवृत्ती प्रदान गरिएको छ । अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा भएको सभाले सचिव राधाकुमारी ढकालले पेश गरेको चालु आर्थिक वर्ष २०७७/०७८ को पाँच अर्ब ९९ करोड ५४ लाख २२ हजार एक सय ८२ रुपैयाँको संशोधित कार्यक्रम स्वीकृत गरेको छ । सभाले आगामी आर्थिक वर्षको ६ अर्ब ७३ करोड ९७ लाख दुई हजार आठ सय १९ रुपैयाँको प्रस्तावित बजेट तथा कार्यक्रमलाई पनि स्वीकृत गरेको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार संस्थाले सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा कार्यक्षेत्र विस्तार गरेर सेवा प्रवाह गर्दै आएको छ ।

Translate »