पत्रकार डेकेन्द्रको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

 


प्रहरीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ । पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिक–३ द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको हो । पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरेर मंगलवार जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो । न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन अवस्थामा पक्राउ परेका पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महिना १ दिन जिल्ला कारागारमा थुनामा रहेका थिए । थुनामा रहेको अवस्थामा पुनले तत्कालिन पुनरावेदन अदालत सुर्खेतबाट बन्दी प्रत्यक्षीकरण अनुसार थुनामुक्त भएका थिए । पुनरावेदन अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भइसकेपछि जिल्ला न्यायाधीश श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेको थियो । त्यसयता उनी फरार रहेको खुलाएको र ४ महिना २९ दिन कैद भुक्तान बाँकी रहेकाले पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पत्रकार थापाको श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्दामा ९ जना माओवादी कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएपछि तत्कालिन अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपनि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए । अन्य ४ जना भने जिल्ला अदालतबाट भएको फैसला अनुसार कैद भुक्तानी गरी मुक्त भैसकेका छन् ।  तर पत्रकार थापाको हत्यामा संलग्न मुख्य व्यक्ति हालसम्म पक्राउ परेका छैनन् । पत्रकार थापाको हत्याका मुख्य अभियुक्त ठहरिएका अरुण भनिने बमबहादुर खड्का एक वर्षअघि पक्राउ गरी पुर्पक्षका लागि थुना रहेका छन् भने अन्य ३ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । तत्कालीन विद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो । पत्रकार थापालाई माओवादी कार्यकर्ताले नौमुले गाउँपालिका(३ मा हत्या गरी खाल्डोमा गाडेका थिए । (अन्नपूर्ण पोष्टबाट)

 

Translate »