सल्यानका किसान बदाम खेतीमा आकर्षित

बिक्रीबाट करिब एक करोड आम्दानी

पुस ४,सल्यान ।
थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएपछि सल्यानका किसानहरु बदाम खेतीको व्यावसायिक खेतीतर्फ लागेका छन्। सजिलै बिक्री हुन थालेपछि शारदा नगरपालिका–७ कजेरीका किसान बदाम खेतीतर्फ आर्कषित भएका छन्। कजेरीका किसानले समूहनै गठन गरेर १२० रोपनीमा बदाम खेती गरेका छन्। समूहका अध्यक्ष सुकलाल खड्काले वदाम खेतीलाई व्यावसायिक बनाउन समूहनै बनाएर खेती गरेको बताउँछन्। उनका अनुसार बिक्रीमा समस्या नहुने र नगद रुपैयाँ पनि हुने भएपछि किसान बदाम खेतीतर्फ आकर्षित भएका छन्। कुमाख गाउँपालिका–१ टाट्केका गिरिजा बिसीले एक पाथीको १३० रुपैयाँका दरले बदाम बिक्री भइरहेको जानकारी दिए। सम्बन्धित निकायले बजारको उचित व्यवस्थापन गरी दिए अझै बमादले बजार पाउने उनको भनाइ छ। ‘अहिले बजारको उचित व्यवस्थापन नहुँदा श्रम गरे अनुसारको मूल्य पाउन सकेका छैनौं,’ उनले भने, ‘बजारको व्यवस्था भए नगदेबालीको रुपमा विकास गर्न सकिन्छ।’

जिल्लाका सबै ठाउँमा बदाम खेती गर्न सकिने भए पनि शारदा नगरपालिका–७ कजेरी, कालीमाटी–४ असुरेनी, वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे, कुमाख गाउँपालिका–४ कालागाउँ, शिद्धकुमाख गाउँपालिका बाझकाँडामा किसानले व्यावसायिक बदाम खेती गर्दै आएका छन्। कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले सल्यानमा २३८ हेक्टर क्षेत्रफलमा बदाम खेती भइरहेको जानकारी दिए। ‘सल्यानमा ५०० टन वदाम उत्पादन हुने गरेको छ,’ बस्नेतले भने, ‘बदाम विक्रीबाट किसानले ७० लाख ८५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन्।’ कृषि विकास कार्यालय सल्यानले बदाम खेतीलाई प्रवर्द्धन गर्न मल, बिउ, सिँचाइ, खेत जोत्न मिनीटेलर र बदाम स्टोर गर्न आवश्यक सामग्रीमा सहयोग गर्दै आएको छ। कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बदाम खेती प्रवर्द्धन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको बताए। शारदा नगरपालिकाको कजेरी र कालीमाटी असुरेनीमा बदाम पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ। (थाहा खबर)

Translate »