पाकिस्तानी मानव अधिकारकर्मी अभियन्ता करिमा मृत भेटिइन्

पुस ८,इस्लामाबाद ।
पाकिस्तानी मानव अधिकारकर्मी तथा अभियन्ता करिमा मेहराब बलोच मृत अवस्थामा भेटिएकी छन् । ३७ वर्षीया बलोच क्यानडाको टोरन्टोमा शरणार्थीको हैसियतमा बस्दैआएकी थिइन् । सोमबार साँझ उनको शव टोरन्टो नजिकै पानीमा भेटिएको प्रहरी र स्थानीयले जानकारी दिएका छन् । साथै उनको मृत्यु भएको पुष्टि भइसकेको छ । एमनेस्टी इन्टरनेश्नल र अन्य अधिकारकर्मी संगठनहरुले उनको मृत्युबारे पारदर्शी छानविन गर्न आग्रह पनि गरेका छन् । टोरन्टो प्रहरीका अनुसार यस घटनाको छानविन भइरहेको जनाएको छ । र यस घटनामा कुनै शंकास्पद तथा आपराधिक गतिविधि नभएको प्ररम्भिक अनुसन्धानबाट भन्न सकिने जनाएको छ ।

करिमा केही समयअघि वेपत्ता भएको र उनको खोजी गरिएको पनि टोरन्टो प्रहरीले जनाएको छ । यससँगै पाकिस्तानमा सक्रिय अधिकारकर्मी समूहहरुले पनि उनको मृत्युबारे छानविनका लागि आग्रह गरेका छन् ।आदिवासी बलोची अधिकारकर्मीको रुपमा प्रतिष्ठित छवि बनाएकी करिमाले विभिन्न अधिकार संगठनको नेतृत्व गरिसकेकी थिइन् । पाकिस्तानमा छँदा उनी सरकार विरोधी रुपमा पनि चिनिएकी थिइन् । पाकिस्तानमा अधिकारको लडाइँमा सक्रिय रहेकी उनी राजनीतिक प्रतिकुलताका कारण क्यानडा पुगेकी थिइन् । २०१६ मा बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा उनको नाम समेत समेटिएको थियो । पाकिस्तानमा ज्यान मार्ने धम्की आउन थालेपछि २०१७ मा क्यानडाले उनलाई राजनीतिक शरणार्थीको रुपमा आश्रय दिएको हो ।(एजेन्सी)

Translate »