प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त
विराटनगर– मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६९ को (२) ९ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार शनिबार साँझ मुख्य मन्त्री राईले मन्त्री आङबोलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई बर्खास्त गरेको जानकारी दिए । उनका अनुसार आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको थियो । आङ्बोले २ वर्ष १० महिना काम गर्न दिएकोमा मुख्यमन्त्री राईलाई धन्यवाद दिए । दाहाल–नेपाल पक्षका सांसदहरुले दुई दिनयता अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पटक पटक छलफल गर्दै आएका छन् । नेकपा दुई समूहमा विभाजित भएपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको छ । मुख्यमन्त्री राई पूर्वएमाले र आङ्बो पूर्वमाओवादी हुन् ।