सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री बर्खास्त
स्काई न्यूज/ पुस १४, धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह वोहरालाई बर्खास्त गरेको छ । सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान नेकपामा आएको विभाजनसँगै केपी ओली पक्षीय भौतिक योजना तथा विकास मन्त्री वोहरालाई बर्खास्त गरेका हुन् । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका अनुसार मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैसँग राखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशमा यति बेला नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षधरबीच सांसद तानातान देखिएको छ । ७ मन्त्री रहेको सुदूरपश्चिम सरकारमा मुख्यमन्त्रीसहित ३ जना माओवादी, ३ जना माधव पक्ष र बोहरा केपी ओली पक्षका थिए । अहिले पार्टी बिभाजन भएपछि मुख्यमन्त्रीसहित ५ जना प्रचण्ड माधव पक्षमा छन् । आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहरा ओली पक्षमा देखिएका छन् ।
सभामुखबाहेक नेकपाका ३८ सांसद रहेको सुदूरपश्चिममा सुरुदेखि नै दाहाल–नेपाल पक्षधर मजबुत छ । ओली पक्षमा पदमुक्त भएका मन्त्री बोहरासहित तीन जना मात्रै खुलेर लागेका थिए । पछिल्लो समय ओली पक्षधरमा खुल्ने प्रदेश सांसदको संख्या आठ पुगेको बताइन्छ । दाहाल–नेपाल पक्षधर रहेका भट्ट नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्न २७ सांसदको आवश्यकता पर्छ । हाल प्रदेशसभामा नेपाली कांग्रेसका १२ र राजपाका दुई सांसद छन् । दुवै प्रतिपक्षी दलका सांसदहरु एक भएर वर्तमान सरकार फेर्न पनि ओली समूहका १३ जना सांसदको आवश्यकता पर्छ । ओली समूहमा १३ जना सांसद नपुग्ने विष्लेषणसहित वर्तमान सरकार ढुक्क देखिन्छ । ओली समूह भने सरकार ढाल्न पुग्ने संख्या पु¥याउने कसरतमा रहेको एक सांसदले बताए । यता बोहराले सुदूरपश्चिम प्रदेश सरकारमा आफूले गरेको कामले सरकारकै इज्जत थामिएको बताए । कुरो, भाषण भन्दा पनि काममा बढी सक्रिय भैरहने मन्त्री वोहराले आफूले गरेको कामको जनताले मूल्यांकन गरेको र अहिले राजनीतिक प्रतिसोधका कारण पदमुक्त गरेकोलाई स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेशमा ५३ सदस्य रहेका छन् ।