जाजरकोटमा मह उत्पादन आधाले घट्यो

स्काई न्यूज / पुस १५,जाजरकोट ।
जाजरकोट जिल्लामा यसबर्ष मह उत्पादन आधाले घटेको छ । मह उत्पादन घटेपछि मौरी पालन गरेका मौरी किसान मर्कामा परेका छन् । मौरी व्यवसायलाई मुख्य पेशा बनाएका मौरी किसान उत्पादन घटेपछि यती बेला निराश बनेका छन् । गत वर्ष मह बिक्री गरेर चार लाख आम्दानी गरेका नलगाड नगरपालिका ४, कालाचिउराका केशव बहादुर रावल यो वर्ष ५० हजार पनि हात पार्न मुस्किल भएको बताए। ६५ घार मौरी पालन गरेका रावल गत वर्षको तुलनामा यस वर्ष उत्पादन धेरै कम भएको बताए ।


नलगाड २ कल्पतका सेते बुढा पनि मह उत्पादन घटेपछि निराश हुनु भएको छ । महको सिजन राम्रो नभएको कारण यस पटक उत्पादन घटेको बुढाको भनाइ छ । रावल र बुढा त केही उदाहरणका पात्र मात्र हुन् । जिल्लाभरि मौरी पालन गरेका ५ सय बढी मौरी किसान मह उत्पादन घटेपछि निकै चिन्तामा परेका छन् । जिल्लामा मह उत्पादन आधाले घटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटका निमित्त प्रमुख पीताम्बर बस्नेतले बताउनु भएको छ । वन विनाश, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नु लगायतका कारण मह उत्पादन घटेको बस्नेतको भनाइ छ । महको उत्पादन घटेपछि मूल्य भने बढेको छ । प्रति किलोको ५ सय मूल्य पर्ने मह यो बर्ष ८ सय किलो पुगेको छ । मौरी र महको बलियो सम्भावना बोकेको जाजरकोटको अर्ग्यानिक महले मानव स्वास्थ्यलाई चाहिने पोषणको आपूर्तिमा टेवा पुग्ने बताइएको छ । उत्पादित मह लिन व्यापारी गाउँघरमै पुग्ने गरेका छन् । जिल्लामा ६ हजार मौरी घार रहेका छन् । गत बर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो ।

Translate »