रुकुममा अन्नबालीको उत्पादन बढ्यो

पुस १६, रुकुम ।
रुकुम पश्चिममा मुख्य अन्नबाली मकै र धानको उत्पादन बढेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार रुकुममा गतवर्षको तुलनामा मकै ४५ दशमलव २ र धान ४४ दशमलव ४१ प्रतिशतले बढेको हो ।  यस वर्ष गतवर्षको तुलनामा १२ हजार ३२ मेट्रिक टन बढी मकै फलेको कार्यालयले बताएको छ । ८ हजार ३५० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा गत वर्ष प्रतिहेक्टर ३ मेट्रिक टनका दरले २६ हजार ७२३ मेट्रिक फलेको थियो । यस वर्ष भने प्रतिहेक्टर ४ दशमलव ६४ का दरले ३८ हजार ७ सय ५५ मेट्रिक टन मकै उत्पादन भएको कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए । उनका अनुसार गतवर्ष र यस वर्ष उत्तिकै क्षेत्रफलमा मकै र धानको खेती गरिएको थियो ।

‘कोरोना महामारीले यो वर्ष परिवारका सबै सदस्य घर फर्किए र बाँझो जग्गामा समेत खेतीपाती गरेका कारण उत्पादन बढेको हो,’ उनले भने, ‘मौसमले पनि उत्तिकै साथ दियो ।’ यस वर्ष जिल्लाको ३ हजार ४८ हेक्टरमा धानखेती गरिएको थियो । गतवर्ष ८ हजार ९ सय ७६ मेट्रिक टन धान फलेकामा यसपालि १२ हजार ९५४ मेट्रिक टन धान फलेको कार्यालयले बताएको छ । गत वर्षभन्दा ३ हजार ९८७ मेट्रिक टन धान बढी उत्पादन भएको निमित्त प्रमुख केसीले बताए । उनका अनुसार जिल्लाका ६ ओटै स्थानीय तहमा मकै र धानको खेती हुन्छ । कार्यालयले यस वर्ष सबै स्थानीय तहमा ‘क्रप कटिङ’ गरी उत्पादनको मापन गरेको हो । केसीका अनुसार अब गहुँ र अरू बालीको पनि यसरी नै उत्पादन मापन गर्ने तयारी गरिएको छ ।

Translate »