पेट्रोलियम पदार्थ उत्खननको दोस्रो चरणको काम थाल्न ढिलाइ

स्काई न्यूज / पुस १६, दैलेख ।
दैलेखमा शुरू गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको दोस्रो चरणको काम थाल्न ढिलाइ भएको छ । दशैं–तिहार लगत्तै शुरू गरिने भनिएको काम अझै शुरू हुन सकेको छैन । आयोजनाका अनुसार दोस्रो चरणमा ‘ड्रिल’ को काम थाल्ने योजना थियो । यसका लागि आवश्यक औजार चीनबाट ल्याउन नसकिएकाले काम शुरू गर्न ढिलाइ भएको बताइएको छ । आयोजना प्रमुख एवं खानी तथा भूगर्भ विभागका उप–निर्देशक सुधीर रजौरेले नयाँ वर्ष ९सन् २०२१०देखि हुन सक्ने बताए । ‘विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने देखाइसकेको छ,’ उनले भने, २०२१ अथवा आउँदो फागुनदेखि काम सुचारु हुन सक्छ ।’ कम्पनीले औजार ल्याएपछि मात्र कुन स्थानबाट ड्रिल गर्ने भन्ने टुंगो लाग्ने उनले बताए ।

विभागले गतवर्ष ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो । रजौरेका अनुसार चीनको अध्ययन समूहले अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । छिट्टै उनीहरूले निष्कर्ष दिने विभागले बताएको छ । ड्रिल ४ दशमलव ५ किलोमिटर गहिराइमा गरिनेछ । ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ, जसका लागि सम्भावित स्थानहरूको पहिचान हुँदै छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम भने सम्पन्न भएको विभागले बताएको छ । उपनिर्देशक रजौरेका अनुसार अब, ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’ अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ, पत्ता लगाउने काम हुनेछ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने उल्लेख छ । दैलेखमा वर्षौंदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभिस्थान, पादुका, तल्लो डुंगेश्वरलगायत क्षेत्रहरूलाई आधार मानी चिनियाँ प्राविधिकको टोलीले पेट्रोलियम पदार्थ अन्वेषण, उत्खनन एवं परीक्षणको काम गर्दै आएको छ ।

 

Translate »