२०८३ भदौ २७ , शनिबार
Sky News Nepal
September 13, 2026

सल्यानका छ सय किशोरीलाई सेल्फ डिफेन्स तालिम



पुस २२,सल्यान ।
जिल्लाको छत्रेश्वरी गाउँपालिकाले छ सय किशोरीलाई सेल्फ डिफेन्स (आत्म सुरक्षा) तालिम दिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र युथ्स अफ तुलसीपुरको व्यवस्थापनमा बलात्कार, महिला हिंसा जस्ता घटनाहरू न्यूनीकरण गर्न र यसबाट बच्न सकिने उपायहरूको बारेमा किशोरीहरूलाई जनचेतनामूलक आत्म सुरक्षा तालिम प्रदान गरिएको छ । सल्यानमै पहिलो पटक सञ्चालन गरिएको यो कार्यक्रममा किशोरीहरूको आत्म सुरक्षा सम्बन्धी प्रारम्भिक टेकनिकहरु सिकाइएको छ । एक विद्यालयमा एक हप्ता किशोरीहरूलाई तालिम दिएको हो । आत्म सुरक्षा तालिमले आत्मबल बढाउन निकै महत्त्वपूर्ण काम गरेको शारदा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा भगवती राणाले बताइन । उनले भनिन ‘हामीले आफ्नो सुरक्षा कसरी गर्ने र अप्ठ्यारोमा सुरक्षित हुने विभिन्न तरिकाहरू सिक्न पायौँ ।’

छात्रा तथा महिलाहरूमा आत्मविश्वास बढाउन र यौन दुर्व्यवहार विरुद्ध बोल्ने हिम्मत जुटाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । छात्राहरूमार्फत गाउँघरमा समेत यस्तो सिकाइ तथा ज्ञानको प्रवाह होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीको भनाई छ । सार्वजनिक यातायातमा यात्रा गर्दा वा अन्य स्थानहरूमा हिँडडुल गर्दा महिलाहरूमा माथि हुने यौन दुर्व्यवहारबाट आत्मरक्षा गर्ने सम्बन्धमा टेकनिकहरु सिकाएको युथ्स अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताए। पछिल्लो समयमा बलात्कार तथा हिंसाका घटनाहरू बढ्दै जाँदा किशोरीहरू असुरक्षित बन्दै गएका कारण किशोरीहरूलाई आत्म सुरक्षा तालिम प्रदान गरेको युथ्स अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीले बताए । उनले भने, ‘साथीभाइ, परिवार, नातेदार लगायतका व्यक्तिहरूबाट बलात्कार तथा हिंसाका घटनाहरू बढिरहेको भन्दै आफूहरूले अभियानै चलाई कार्यक्रम सञ्चालन गरी कसरी आफ्नो सुरक्षा गर्ने र बच्नका लागि अपनाइने प्रयासहरूका बारेमा जानकारी दिने गरेका छौँ ।’

प्रकाशित मिति : २०७७ पुस २२ गते बुधबार
Translate »