सल्यानबाट ४ महीनामा २२ करोडको कृषि वस्तु निकासी

माघ ४,सल्यान ।
सल्यानबाट चालू आर्थिक वर्षको ४ महीनामा रू.२२ करोडभन्दा बढीको कृषि वस्तु जिल्लाबाहिर निकासी भएको छ । गत साउनदेखि कात्तिकसम्म जिल्लाबाट रू. २२ करोड १२ लाख २७ हजार बराबरको कृषि उत्पादन निकासी भएको हो । सो अवधिमा ३ हजार ५०० मेट्रिक टन तरकारी निकासी भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । यसैगरी ४ करोड १२ लाख बराबरको अदुवा र ७ करोड ६७ लाख ७० हजारको बर्खे आलु निकासी भएको छ । साथै ९२ मेट्रिक टन कागती, निबुवा, अम्बा, नास्पातीलगायत फलफूल निकासीबाट जिल्लामा रू। ४८ लाख ७१ हजार भित्रिएको बस्नेतले जानकारी दिए । उनका अनुसार ४६० मेट्रिक टन तरकारी जिल्लाभित्रै खपत भएको छ । ‘यस्तै पाँच मेट्रिक टन अदुवा, ७३१ मेट्रिक टन आलु जिल्लामै खपत भएको छ,’ उनले भने, ‘मुख्य कृषि उत्पादनमा सल्यान आत्मनिर्भर छ ।’

जिल्लामा बेमौसमी तरकारीका लागि प्रख्यात भएको तथा कृषिले राम्रो मूल्य पाएको कार्यालयको भनाइ छ । यो वर्ष लकडाउनका कारण भारतबाट तकारी आउन नसकेकाले पनि किसानले राम्रो मूल्य पाएको कृषि विकास कार्यालयले बताएको छ । जिल्लामा तरकारीखेतीका लागि उपयुक्त जलवायु भएकाले किसानले यसलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारमा गएर आएका युवासमेत व्यावसायिक रूपमा कृषि पेशामा लागेका छन् । जिल्लाको शारदा नगरपालिका, शिद्धकुमाख गाउँपालिका र बागचौर नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्केर युवाले व्यावसायिक कृषि शुरू गरेको कृषि विकास कार्यालय सल्यानले बताएको छ । (रासस)

Translate »