बालविवाह कम गर्न धामी झाँक्री तालिम

माघ ६,हुम्ला ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ४ देखि ६ सम्मका २५ जना धामी झाँक्री तथा पुजारीका लागि सचेतना तालिम सञ्चालन गरिएको छ । यसबाट समुदायमा हुने बालविवाहलाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पछिल्लो समय कानुनी हिसाबमा “बीस पारी विहेवारी” भन्ने कुरालाई मान्यता दिएपनि स्थानीयस्तरमा १४, १५ वर्षमा नै विहे गर्ने चलन रोकिएको छैन । समुदायमा प्रत्यक्ष सम्पर्कमा रहने स्थानीयस्तरमा मान्यता पाएका धामीझाँक्री र पुजारीलाई सचेतना अभियानमा सहभागी गराउँदा लाभदायक हुने सिमकोट गाउँपालिका निमित्त प्रशासकीय अधिकृत उजीर रोकायाले बताए । यसैले पनि सिमकोट गाउँपालिकाले सचेतनाका लागि यस्ता विभिन्न कार्यक्रममध्ये यो एक नौलो र गहन कार्यक्रम भएकाले पनि आगामी दिनमा यस्ता ग्रामीणस्तरका तल्लो समुदायका नागरिकलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालन गरिने भएको छ । यसबाट बाल सचेतना तथा अभियानमा सहयोग पुग्ने देखिएको छ । यो कार्यक्रममा २५ जना धामी झाँक्री तथा पुजारीको उपस्थिति रहेको थियो ।

Translate »