चुनावको तयारीमा जुट्यो निर्वाचन कार्यालय

स्काई न्यूज / माघ ६, सुर्खेत ।
सरकारले वैशाख १७ र २७ गते निर्वाचन हुने घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय सुर्खेतले चुनावी तयारीमा जुटेको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज (मंगलबार) वीरेन्द्रनगरमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले जिल्लामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताईन् । उनले माघ १५ गतेदेखि स्थानीय तहमा सात दिन र जिल्ला स्तरमा १२ दिन अद्यावधिकको काम गरिने जानकारी दिईन् । उनका अनुसार २०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाभर २ लाख ४ हजार ५ सय ७७ मतदाता रहेकोमा गत पुस ६ गते सम्म जिल्लामा २ लाख १९ हजार ४ सय ७६ मतदाता रहने अनुमान गरिएको छ ।

यस्तै जिल्लाभर १ सय ३८ वटा मतदान केन्द्र र २ सय ७६ वटा मतदान स्थल निर्धारण गरिएको उनको भनाई छ । ‘सरकारले वैशाखमा गर्ने भनेर घोषणा गरिएको निर्वाचनको तयारी शुरु गरेका छौं, नयाँ मतदाता नामावली संकलन कार्य गत पुस ६ गते देखि नै स्थगित गरिसकेका छौं, तर गत पुस ५ गते सम्म १८ बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएका सबैले मतदान गर्न पाउँछन्,’ उनले भनिन् । मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि हटाउन, हालसम्म जिल्लामा संकलित मतदाता नामावलीलाई वैधानिकता दिन र आगामी वैशाखमा हुने निर्वाचनको लागि अद्यावधिक मतदाता नामावली तयार पार्ने उद्देश्यले मतदाता नामावली अद्यावधिकको काम शुरु गरिएको रेग्मीले बताईन् ।  गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि जिल्लामा राजनीतिक सरगर्मी ह्रवात्तै बढेको छ । संसद् विघटनको पक्ष र विपक्षमा बहस तथा चर्चा परिचर्चा भइरहेका छन् ।

Translate »