यातायात सुर्खेत कार्यालयको राजश्वमा बृद्धि

६ महिनामा करिब पौने ९ करोड राजश्व संकलन


 

सुर्खेत ।  यातायात व्यवस्थापन कार्यालय सुर्खेतमा राजश्व संकलन हुने क्रम बढेको छ ।

कोरोना महामारीको सन्त्रास कम भएपछि कर बुझाउने सेवाग्राही बढेसँगै सवारी साधनको संख्या बृद्धिले यातायात व्यवस्थापन कार्यालयको राजश्वमा बृद्धि हुँदै गएको हो । कार्यालयले चालु आर्थिक वर्ष २०७७/०७८ को पछिल्लो ६ महिनामा ९ करोड ५२ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा ४९ दशमलव ३ प्रतिशतले बढी हो । उक्त आवको सोही अवधिमा कार्यालयले ६ करोड ३७ लाख ६६ हजार ४ सय रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका लेखा अधिकृत रामप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार चालु आवमा सबै भन्दा बढी सवारी साधन करबाट ७ करोड ६९ लाख २३ हजार ८ सय रुपैयाँ असुली भएको छ । त्यस्तै चालक अनुमति पत्र सवारी दर्तातर्फ १ करोड ४७ लाख ७६ हजार ४ सय संकलन भएको छ भने यातायात क्षेत्रको आम्दानी तर्फ २५ लाख ८ हजार ६ सय रुपैयाँ राजश्व संकलन भएको दाहालले बताए ।

उनका अनुसार कार्यालयले गत वर्ष कुल १० करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । यातायात कार्यालय प्रमुख आनन्द चपाईले गत वर्ष कोरोना महामारीका कारणले सवारी कर तिर्न नसकेका सेवाग्राहीले चालु आर्थिक वर्षमा सुर्खेतबाटै सहजरुपले कर बुझाएपछि राजश्व बृद्धि भएको बताए ।

उनले यसअघि कर्णालीका धेरैजसो सेवाग्राहीले लुम्बिनी प्रदेशको बाँके स्थित नेपालगञ्जबाट सेवा लिने गरेको जनाए । उनका अनुसार अहिले सुर्खेतमै यातायात कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीलाई भौगोलिक नजिकताले सहज भएको छ ।

गत वर्ष कोरोना महामारीका कारणले नयाँ लाइसेन्सको आवेदन, सवारीसाधन दर्ता, नवीकरण, नामसारीलगायत सेवा पूर्णरुपमा बन्द थिए । गत वर्ष चैत ९ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गर्न निर्देशन दिएपछि राजश्व असुली समेत प्रभावित भएको थियो ।

उनले चालु आर्थिक वर्षमा सवारी साधनको बृद्धिसँगै राजश्व संकलनको अनुपातमा समेत बृद्धि भएको जनाए । प्रदेशमा सडक विस्तारसँगै यातायातको पहुँच बढ्दै गएकाले सवारी साधनमा बृद्धि भई राजश्व संकलनमा बढि रहेको छ । उनका अनुसार पछिल्लो समय प्रदेशमा दुई पाङ्ग्रे मोटरसाइकल, स्कुटी, कार, जीप, कृषियोग्य जमिनमा प्रयोग गरिने ट्याक्टरलगायत बाटो बनाउने डोजर, एक्साभेटरको संख्यामा समेत बृद्धि भएकाले राजश्व बृद्धि हुँदै गएको छ ।

त्यस्तै कार्यालयका प्रशासन अधिकृत तिलकराम अधिकारीले वर्षैपिछे सवारी साधनको बृद्धिसँगै कार्यालयले सेवाग्राहीको सेवालाई चुस्त पारेसँगै दिनहुँ सेवाग्राहीको संख्या समेत बढेको जनाए ।

उनले कार्यालयमा दैनिक दुई सय बढी सेवाग्राही आउने गरेको बताए । कार्यालयको नियम अनुसार सवारी कर ढिलो बुझाएमा ३२ प्रतिशतसम्म जरिवाना लाग्ने र ५ वर्षसम्मको कर अग्रिम बुझाउँदा १० प्रतिशतसम्म छुटको व्यवस्था भएकाले पनि कर संकलनमा बृद्धि हुँदै गएको छ ।

सवारी साधन दुर्घटना भई क्षति भएमा क्षतिको वीमा दावी गर्न र मानविय क्षति भएमा सवारी नविकरणको कागजात सम्बन्धित निकायमा बुझाउनु पर्ने प्रावधान रहेकोले यस तर्फ सेवाग्राही सचेत भएर समयमै कर बुझाउँदा कार्यालयको राजश्वमा बृद्धि हुने गरेको छ । कार्यालयले जाँचपास, पट्के सेवा, अस्थाई अनुमतिका सेवा, समेत दिँदै आएको छ ।

Translate »