वीरेन्द्रनगरका छाडा कुकुरको बन्ध्याकरण

स्काई न्यूज /माघ १३, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरमा निःशुल्क बन्ध्याकरण रोग अन्वेषण तथा रेविज विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो । यसअघि स्काई न्यूज दैनिकले ‘वीरेन्द्रनगरमा भुस्याहा कुकुरको बिगबिगी’ छाडा कुकुर व्यवस्थापनमा समस्यालगायतका समाचार मार्फत सरोकारवालालाई खबरदारी गर्दै आएको थियो । कर्णाली प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरण सहित रेविज रोगको खोप पनि लगाइने भएको छ । सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर सञ्चालनगरिएको पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डाक्टर कृष्णराज पाण्डेले बताए ।
‘कुकुरको जनसंख्या बढ्न नदिन तथा उचित ब्यवस्थापनका लागि बन्ध्याकरण गर्न लागिएको हो,’ प्रमुख डाक्टर पाण्डेले भने, ‘प्रदेशमै पहिलो पटक कुकुरलाई बन्ध्याकरण गर्न विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिएको छ ।’ उनले पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक कुकुरहरुलाई खोप सञ्चालन गरिएको जनाए । उनका अनुसार शिविरका लागि ८ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको ब्यवस्थापन गरिएका छ । पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मोहन गिरीले शिविर अवधिमा दैनिक एक सय कुकुरको बन्ध्याकरण सहित रेविज रोगको खोप लगाईने कार्यक्रम रहेको बताए । उनले सोमवार तथा मंगलवार विहानसम्म करिव १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको जानकारी दिए । उनका अनुसार बजारमा रहेका सामुदायिक कुकुरलाई भेटनरी एम्बुलेन्स मार्फत पशुपंन्छि विकास निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको छ । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैले लिएर शिविर स्थलमा आएपनि निःशुल्क बन्ध्याकरण गरिने उनले जानकारी दिए । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाण्डौ, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । निःशुल्क बन्ध्याकरण शिविर सोमवारदेखि बुधवारसम्म सञ्चालन हुने आयोजक कार्यालय पशुपन्छि विकास निर्देशनालयले बताएको छ ।

यो समाचार पनि पढ्नुहोस्ः– वीरेन्द्रनगरमा भुस्याहा कुकुरको बिगबिगी, छाडा कुकुर व्यवस्थापनमा समस्या
https://skynewsnepal.com.np/2020/09/13/5289?fbclid=IwAR2Gjcc5bd9AggTZhnxMZ3EVIfs92g37i1gfFVrmsp1QqvMJPtyHnPzOyG0