‘गाउँको समृद्धिका लागि गाउँकै युवायुवती’


स्काई न्यूज /माघ १७, सुर्खेत ।
गाउँको समृद्धि गाउँकै युवायुवतीबाट सम्भव रहेको हुम्ला र जाजरकोटका युवायुवती बताउँछन् । समिकरण विकास केन्द्र (एड्सेन) नेपालले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको विकास, शान्ति, र न्यायका निम्ति नमूना बस्ती परियोजना अन्तर्गत नमूना गाउँ निर्माण कार्यक्रमका लागि सहजकर्ताहरुका लागि दुई दिने अभिमुखिकरण तालिमा उनीहरुले बताएका हुन् । समृद्धि आफ्ना पालामा आफैले ल्याउनु पर्छ भन्ने सोच नभएसम्म गाउँको समृद्धि आउन नसक्ने उनीहरुको भनाइ थियो । हुम्लाको सिमकोट गाउँपालिकाका युवा हेमन्त रावतले गाउँको विकासका लागि प्रविधिको उच्चतम् सहारा लिँदै आफ्नो गाउँ आफै बनाउन युवायुवतीकै अग्रसरता आवश्यक रहेको बताए । ‘कर्णालीका गाउँहरुलाई नमूना गाउँ निर्माण गर्न हामी युवायुवतीको सक्रियता र सकारात्मक सोच अपरिहार्य हुन्छ,’ उनले भने, ‘सरकारी पक्षसँगै नीजि क्षेत्र र सहकारीले समेत नमूना गाउँ निर्माणका लागि हातेमालो गर्न जरुरी हुन्छ ।’

उनले समृद्धिका लागि गाउँ, वस्तीमा उद्यमशीलता, होमस्टे, कृषि, पशु, स्वास्थ्य, शिक्षा, खानेपानी तथा पूर्वाधार निर्माणमा जोड दिनु पर्ने औल्याए । हुम्लाकै चंखेली गाउँपालिकाकी दुर्गाकुमारी शाहीले समावेशी, समतामुलकका नारा अब गाउँबाटै व्यवहारिकरुपले कार्यान्वयन गर्न आवश्यक रहेको बताईन् । कार्यक्रममा जाजरकोटको कुशे गाउँपालिकाका मोतिराम नेपालीले सबै भन्दा पहिले राज्य र नागरिकको नियत र निष्ठा सही भए नमूना गाउँ, वस्ती बनाउन कुनै समय नलाग्ने बताए । उनले मानव संसाधनको विकासले नै भौतिक संसाधनको विकास हुने जिकिर गरे । कार्यक्रम उद्घाटन कार्यक्रममा एड्सेनका अध्यक्ष प्रकाश सारुले तालिमबाट प्राप्त ज्ञान, कौशल र जानकारीलाई नमूना गाउँ निर्माण अभियानमा जुट्न सहभागि युवायुवतीलाई सुझाव दिए । उनले गाउँको समृद्धिका लागि गाउँकै युवाहरुको अग्रसरताबाटै गाउँ, वस्तीलाई नमूना बनाईने जिकिर गरे । उनका अनुसार तालिममा एड्सनका कार्यकारी निर्देशक चन्द्रबहादुर राना र कार्यक्रम संयोजक रोशन रानाले सहजीकरण गरिरहेका छन् ।

Translate »