सुर्खेतका यातायात व्यवसायीबाट प्याकेजमै सहुलियत माग

स्काई न्यूज /माघ १७, सुर्खेत ।
सुर्खेत यातायात व्यवसायीले कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उत्पन्न आर्थिक संकटबाट अझैपनि मुक्त हुन नसकेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको पञ्चकोशी यातायात प्रालिको प्रथम वार्षिक साधारण सभामा बोल्ने अधिकांस यातायात व्यवसायीले लकडाउनमा यातायातका सवारी साधन गुड्न नसक्दा बैंकको व्याजलगायत अन्य आर्थिक संकटले अहिले सम्म पिरोरिरहेको बताएका हुन् । उनीहरुले लकडाउनबाट उत्पन्न समस्या समाधानका लागि सरकारले यातायात व्यवसायीलाई आर्थिक राहत दिन माग गरे । नेपाल टे«ड युनियनका केन्द्रिय सदस्य जयबहादुर बुढाले लकडाउनपछि यातायात क्षेत्रमा देखापरेको आर्थिक संकट राज्यको सहयोग विना समाधान गर्न नसिकने भएकाले यातायात व्यवसायीका समस्याप्रति सरकारको ध्यान जान आवश्यक रहेको औल्याए ।
उनले यातायात व्यवसायीलाई राज्यले प्याकेजमै विभिन्न आर्थिक सहुलियतका कार्यक्रम ल्याईदिए ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पञ्चकोशी यातायात प्रालिका अध्यक्ष सञ्जय खत्रीले विभिन्न समस्याका वावजुद प्रालिले यात्रुलाई सुरक्षित सेवासँगै सामाजिक कार्यमा योगदान दिंदै आएको बताए । उनले प्रालिबाट जारी प्रति टिकटबाट १ रुपैयाँ छुट्टाएर सामाजिक कार्यमा लगाउँदै आएको जानकारी दिए । उनका अनुसार प्रालिले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर मानव सेवा आश्रमलाई १० हजार रुपैयाँ आर्थिक सहयोगसँगै प्रशान्ति वृद्धाश्रममा आश्रितलाई धार्मिक पर्यटकीय स्थलहरुको भ्रमण गराईएको थियो । खुला सत्रमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले साधारण सभाको सफलताको शुभकामना दिँदै यातायात क्षेत्रको सहजताका लागि यातायात कार्यालयले यातायात व्यवसायीलाई हरसम्भव सेवा प्रवाह गरिरहेको दावी गरे ।

उनले सवारी साधनको भौतिक अवस्था जाँचबुझ गर्ने प्राविधिक काम बाहेकका सेवा अहिले सुर्खेत कार्यालयबाटै प्रवाह भइरहेको जनाए । केही समयपछि यातायात कार्यालयका सबै सेवालाई थप विस्तार र शुलभ बनाउन कम्प्युटरकृत गर्दै अनलाईन प्रणालीमा विकसित गर्न लागिएको उनको भनाइ थियो । साधारण सभाको बन्द सत्रमा सचिव निर्मलकुमार डाँगीको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विश्व थापाको आर्थिक प्रतिवेदन पारित गरे । सभामा कार्य समितिको रिक्त रहेका पदहरु मध्ये उपाध्यक्षमा रामप्रसाद पौडेल, सह–सचिवमा पारस श्रेष्ठ, सदस्यमा रिदेश विक र नन्दबहादुर बुढाथोकीलाई मनोनित गर्ने निर्णय भएको छ । सभामा प्रालिलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।