बिहीबार निर्धक्क सार्वजनिक यातायात, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा दाहाल–नेपाल समूहले भोलि (बिहीबार) आम हड्तालको घोषणा गरेपछि गृह मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएको हो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को नामबाट विविध विषयहरू उठाई साँझ मसाल जुलुस र भोलि २०७७।१०।२२ गते देशव्यापी आम हडताल आव्हान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । नेपालको संविधान तथा प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न र संविधान प्रदत्त हकको निर्बाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्बद्ध पक्षसँग आग्रह समेत गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

Translate »