पक्राउ परेका कार्यकर्तालाई छोड्न माग
स्काई न्यूज / माघ २२, सुर्खेत ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतले मालपोत कार्यालयबाट पक्राउ गरेका आफ्ना कार्यकर्तालाई विना शर्त रिहा गर्नुपर्ने माग राखेको छ । नेमकिपाले (आज) विहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर मालपोत कार्यालयबाट सेवाग्राहीलाई सेवा लिन भईरहेको ढिलासुस्ती तथा हैरानीबारे मालपोत प्रमुख हिक्कमतजंग शाहीसँगै छलफल चलिरहेकै बेला एक्कासी पक्राउ पुर्जी (वारेन्ट पेपर) विनानै प्रशासनको ठाडो आदेशमा आफ्ना ५ जना कार्यकर्तालाई पक्राउ गरिएकोप्रति आपत्ती जनाउँदै विना शर्त रिहा गर्नुपर्ने माग राखेको हो ।
नेमकिपा केन्द्रीय नवराज कोइरालाले विधिको शासनमा सुर्खेत प्रशासनले यहीं माघ १८ गते आफ्ना ५ जना कार्यकर्तालाई विना कारण मालपोत कार्यालयबाट गैरकानूनी तरिकाले गिरफ्तार गरि अभद्र व्यवहार मुद्धा चलाउनु अलोकतान्त्रिक कदम भएको भन्दै तत्काल विना शर्त रिहाईको माग गरे । उनले गिरफ्तार गरिएका सुर्खेत जिल्ला कोषाध्यक्ष गोविन्दनाथ योगी, सदस्यहरु गणेश खड्का, यामुना योगी, र सिर्जु शाहीलाई प्रशासनले रिहाई नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए । यता जिल्ला प्रशासनले भने मालपोत कार्यालयमा अमुक पार्टीका नाममा केही व्यक्तिहरुले सेवा प्रवाहमा अनावश्यक हस्तक्षेप र होहल्ला गर्न थालेपछि नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्धामा कार्वाही भईरहेको जनाएको छ ।