आमहड्ताल ! कतै सास्ती, कतै खुशीयाली

नेकपा प्रचण्ड–नेपालको बन्द आव्हान


स्काई न्यूज /माघ २२, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालका कारण सुर्खेतको जनजीवन प्रभावित भएको छ । नेकपाका कार्यकर्ताहरु आमहड्ताल सफल बनाउन बिहानैदेखि सडकमा निस्किएर यातायातका तथा बजार बजार बन्द गराउँदै ठाउँ–ठाउँमा टायर बालेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नाराबाजी लगाउँदै विरोध गरेपछि वीरेन्द्रनगर अस्तव्यत बनेको हो । नेकपाका कार्यकर्ताहरु बन्द सफल बनाउन बजारका सडकमा हिडेपछि सवारीसाधन, पसल व्यवसाय र उद्योगहरु धन्दा बन्द रहेका थिए । बन्दको प्रत्यक्ष मारमा यात्रु र दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने वर्ग प्रत्यक्ष मारमा परेको छ । आमहड्ताल सफल बनाउन जिल्लाका नागरिकको उत्साहपूर्ण सहभागिताले दिनभरी कुनै अप्रिय घटना नघटेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले बताए । उनले आम हड्ताल सफल बनाउन जनताले शान्तिपूर्ण सहयोग गरेको प्रति आभार व्यक्त गरे ।

यद्यपि ! शान्तिपूर्ण आन्दोलन गरिरहेको भनेतापनि युवा समूह भने उग्र बन्दै गएको देखिएको थियो । आन्दोलनमा सहभागीले बिहान मोटरसाइकल चलाइरहेका मानिसलाई तानेर कुटपिट गरेका छन् । बुलबुले गेटनजिकै युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई कुटपिट गरेका हुन् । दैलेखको भैरवी गाउँपालिका–१ का जोरासिंह विष्टलाई युवाहरुले मोटरसाइकलबाट झारेर सामूहिकरुपमा कुटपिट गरेका हुन् । त्यस्तै आन्दोलनकारीबाट बच्नका लागि भागिरहेको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । आमहड्तालको क्रममा वीरेन्द्रनगरस्थित सत्कार होटल अगाडी मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका हुन् । बन्दको अवज्ञा गरि मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको थियो । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने दिनभर जिल्लाभर कुनै अप्रिय घटना नभएको बताएको छ । कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएकाले छिटुपुट घटना बाहेक स्थिति सामान्य रहेको जानकारी दिए ।


संघ भर्सेज प्रदेश सरकार
नेकपा प्रचण्ड–नेपाल समूहले आव्हान गरेको आम हड्तालको पक्षमा नेता कार्यकर्तासँगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बन्दको समर्थन गर्दै सडकमा आएका छन् । बिहीबार दिउँसो प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा विवादित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जारी राखेको आम हड्ताललाई सफल बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री शाही प्रदेश सरकारका मन्त्रीको हुल लिएर सडकमा उत्रिएका हुन् । दाहाल–नेपाल समूहले जारी राखेको आमहड्ताल प्रति ऐक्यबद्धता जनाउँदै मुख्यमन्त्री शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितको टोली संघीय सरकार विरोधी आन्दोलन सफल पार्न सडकमा उत्रिएको हो । स्थानीय मंगलगढी चौकमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिए । उनले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध आन्दोलन गर्नुपरेको जनाए । संघीय सरकारकै विरुद्धमा भईरहेको आमहड्तालमा प्रदेश सरकारका मुख्यमन्त्री शाहीसहितको टीम सडकमा उत्रेको देखेर सर्वसाधारणलाई अनौठो लागेको थियो । सरकारले नागरिकलाई हुने सास्ती र पीडाबाट बचाउन सामाजिक सुरक्षा प्रदान गर्नुमा कर्णाली प्रदेश सरकारका प्रमुख र मन्त्री नैं आमहड्तालको नेतृत्व गरेर सडकमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


ओली पक्षको मोटरसाइकल ¥याली
सुर्खेतमा आम हड्तालको प्रतिकार गर्दै नेकपा ओली पक्षधर भातृ संगठन अनेरास्ववियुले मोटरसाइकल जुलुस निकालेको थियो । दाहाल–नेपाल पक्षले हड्ताल गरिरहेको बेला अनेरास्ववियु सुर्खेतले बन्द नभएको भन्दै ¥याली निकालेर बजार परिक्रमा गरेको हो । विद्यार्थीले ‘बन्द गर्न पाईँदैन’, ‘विद्यार्थीलाई पढ्न देऊ’, ‘व्यापारीलाई व्यापार गर्न देऊ’ लगायतका नारा लगाउँदै बजार परिक्रमा गरिएको अध्यक्ष धुपेन्द्र शाहीले जानकारी दिए ।

Translate »