कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर


फागुन ५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गरेका छन् । उनले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् । उनले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक, प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताए । पार्टीका अन्य नेता कार्यकर्तालाई पनि अवसर प्रदान गर्ने हेतुले सचिवालय हेरफेर गरिएको जनाउँदै यसमा अन्य कुनै कारण नभएको मुख्यमन्त्री शाहीले प्रस्ट पारेका छन् । तीन वर्षसम्म सचिवालयमा रहेर काम गरेका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरेको छ । यही फागुन २ गते कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए । मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृतिका बारेमा भने प्रदेश सरकारले जानकारी गराएको छैन । रासस


 

Translate »