सुर्खेतमा भूमि आयोग कार्यालयको उद्घाटन
स्काई न्यूज / फागुन ७, सुर्खेत ।
सुर्खेतमा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिको कार्यालयको उद्घाटन गरिएको छ । सरकारले भर्खरै गठन गरेको उक्त आयोगको आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा पूर्व पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं नेकपाका केन्द्रिय नेता यामलाल कँडेलले कार्यालयको उद्घाटन गरेका हुन् । आयोगका सुर्खेत अध्यक्ष ऐनबहादुर चन्दले आयोगबाट जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत जग्गा सम्बन्धी सबै समस्या समाधान गरिने बताए ।
उनले कार्यालयको उद्घाटनसँगै भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाईने जानकारी दिए । विपन्न, दलित, भूमिविहीन नागरिकलाई विशेष प्राथमिकता दिएर जग्गा विभिन्न प्रयोजनका लागि उपलब्ध गराइने उनको भनाई थियो । कार्यालयको उद्घाटनसँगै जिल्लाका नौ वटै स्थानीय तहमा कति भूमिविहीन नागरिक छन्, जग्गा सम्बन्धी कहाँ कस्ता समस्या छन् भन्ने बारे तथ्याङ्क सङ्कलन भइरहेको छ । तथ्याङ्क आए पश्चात् जिल्लाका भूमि विहीनलाई निःशुल्क जग्गा दिइने र अन्य समस्या समाधानका काम द्रुत रुपमा अघि बढ्ने अपेक्षा राखिएको छ ।