२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’



सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) हुन् ।

सुवास गतवर्ष मङ्सिरदेखि पुजारी नियुक्त भएका हुन्। त्यसअघि उनका साहिला दाजु जीवनदेव पुजारी हुन्। जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पुजारीमा सुवास मन्दिर प्रवेश गरेका हुन्। सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आर्शिवाद दिँदै आएको बताए। “पूजापाठका सबै काम सिक्दैछु, बुवा दाईले सिकाउछन्”, उनले भने।

शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ । जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ । देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन मन्दिरमै बास बस्छन् । पूर्व ‘देउकेटा’ जीवनदेवले वर्षौँदेखि चलिआएको संस्कार भएकाले आफूहरूले निरन्तरता दिँदै आएको बताए । “आफैँले पकाएको खानुपर्छ, अरु जस्तो मन लागि हिँडडुल गर्न पाइँदैन”, उनले भने, “स्कूलमा गएर पनि अलग्गै बस्नुपर्छ, महिनावारी भएकालाई छुन हुँदैन ।” सुवास हाल महादेव मावि कक्षा तीनमा अध्ययनरत हुन् । सुवास सानै भएकाले पूजापाठमा जीवनदेवले सघाउने गरेका छन् । उनी २०६८ जेठदेखि गत वर्ष मङ्सिरसम्म ‘देउकेटा’ का रुपमा मन्दिरमा बसेका थिए।

मन्दिर दुल्लू नगरपालिका–१ तल्लो डुङ्गेश्वर बजार छेवैमा छ । जुन कर्णाली नदी र लोहोरे खोलाको सङ्गमस्थल हो । यहाँ दैलेख, अछाम, सुर्खेतका साथै राजमार्ग हुँदै आउजाउ गर्ने मन्दिर प्रवेश गरेर ‘देउकेटा’ बाट टीका थाप्नुका साथै आर्शिवाद लिई गन्तव्यतर्फ लाग्दछन् । मङ्गलबार र शनिबार श्रद्धालु भक्तजनको बढी भीड लाग्दछ ।

खड्गदेवका छोरा पे्रमदेव, चन्द्रदेव र जीवनदेवपछि सुवासदेव ‘देउकेटा’ का रूपमा भित्रिनु भएको हो । खड्गेव पनि ११ वर्ष देउकेटा हुनुहुन्थ्यो । पूजापाठबाट सङ्कलित दान दक्षिनाबाटै परिवारको खर्च धानेको बताउँदै खड्गदेवले भने, “पूजापाठबाटै सात जनाको परिवार पाल्नुपर्ने बाध्यता छ, जग्गा जमीन छैन, गुठीको आम्दानीबाटै गुजारा चलाउनुपर्छ ।”

उनका अनुसार ‘देउकेटा’ ले १६ वर्ष पार नगरुञ्जेलसम्म पुजारी बन्नुपर्छ । त्यसअघि नै बिहे भयो भने पनि मन्दिरबाट बाहिरिनुपर्छ । यदि पुजारीमा कुनै समस्या आइपरेमा सन्तानको रोल क्रमअनुसार नियुक्त गर्ने चलन छ । त्यसरी नियुक्त ‘देउकेटा’ लाई विधिपूर्वक व्रतबन्ध गरी भित्र्याइन्छ । विवाहितालाई ‘देउकेटा’ बनाए अनिष्ट हुने विश्वास छ । प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये शिव मन्दिरमा गिरी, शिरस्थानमा नाथ, कोटिलामा योगी, धुलेश्वरमा सन्यासीले पूजाआजा गर्ने संस्कार छ । नाबालकले पूजा गर्ने भने यही यो मन्दिर मात्र हो । यहाँका अन्य मन्दिरमा यस्तो चलन छैन । रासस

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतबार
Translate »