२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

जुम्लामा ४१ वटा सिँचाई योजना निर्माण हुँदै



सागर परियार  / जुम्ला । जुम्लामा चालु आर्थिक वर्षमा ४१ वटा सिँचाई योजना निर्माण हुने भएका छन् । यहाँका आठै स्थानीय तहमा कृषि विकास कार्यालय जुम्लाले ४१ वटा सिँचाई योजना निर्माण गर्न लागेको हो । चालु आवमा प्रदेशबाट स्वीकृत भई आएका सिँचाई योजना निर्माणलाई अघि बढाउन योजना सम्झौताको काम भइरहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए।

उनका अनुसार कृषि विकास कार्यालयमा चालु आवमा करिब १६ करोड बजेट विनियोजन भएको छ । जसमा साढे ४ करोड लागतमा जिल्ला भरी ४१ वटा सिँचाई योजना निर्माण गर्नुपर्नेछ । ८० प्रतिशत अनुदान र २० प्रतिशत जनश्रमदानबाट सिचाई कुला निर्माण हुने भएका छन् ।

जम्मा ४१ योजना मध्य जुम्लाको चन्दननाथ नगरपालिकामा ५ वटा तातोपानी गाउँपालिकामा ७ वटा, तिलामा ५, हिमामा ५, सिंजामा ५ वटा सिचाई योजना निर्माण हुने भएका छन् । त्यस्तै, कनकासुन्दरीमा ३ वटा, पातारासीमा २ वटा र गुठिचौर गाउँपालिकामा ६ वटा सिँचाई योजना लगायत अन्य पुरा मर्मत सम्भार गर्ने गरी ४१ वटा सिँचाई योजना निर्माण हुने कृषि विकास कार्यालयले जनाएको छ ।

बर्सेनि सिँचाई योजना निर्माणका लागि करोडौँ बजेट आए पनि जुम्लाको हजारौँ कृषि योग्य जमिनमा अझै सिचाई सुविधा पुग्न सकेको छैन । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जुम्लामा जम्मा कृषि योग्य जमिन ३८ हजार हेक्टर रहेको छ । तर हाल सम्म नियमित सिँचाई जमिन ३२ सय हेक्टर मात्रै रहेको छ । त्यो मध्य पनि २९ सय हेक्टरमा मात्रै खेती भइरहेको कृषि विकास कार्यालयका योजना अधिकृत लक्षिराम महतले बताए ।

आवश्यकता मुखी भन्दा पनि मन्त्री सांसदले हचुवाका भरमा योजना पठाउने गरेका कारण कतै योजना दोहोरिने कतै योजना नपर्ने समस्या छ । जसका कारण जुम्लाको कृषियोग्य जमिनमा सिचाई पुग्न सकेको छैन । माग गरेका भन्दा मन्त्री सांसदले हचुवाका भरमा छनौट गरेका योजना मात्रै स्वीकृत भएर आउने गरेका छन् । जुम्लामा चालु आवमा निर्माण हुने ४१ वटा सिचाइका योजना पनि माग गरेका नभई हचुवाका भरमा पठाएका योजना बढी रहेका छन् ।

प्रकाशित मिति : २०७८ भदौ ३ गते बिहीबार
Translate »