वीरेन्द्रनगरमा निःशुल्क एम्बुलेन्स सेवा
स्काई न्यूज /पुस २४, सुर्खेत । निजी क्षेत्रको शुभलक्ष्मी अस्पताल प्रालिले वीरेन्द्रनगरमा निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागेको छ । शुभलक्ष्मीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेका विपन्न, असहाय तथा अशक्त आम नागरिकलाई अस्पतालसम्म सहज जान–आउन सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागेको हो । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदो माघ १ देखि चैत मसान्तसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ । अस्पतालका प्रबन्ध निर्देशक ओमप्रकाश काफ्ले वीरेन्द्रनगर नगरपालिका–१ देखि १२ नम्वर वडा भित्रका सबै प्रकारका विरामीलाई आउन, जान सहजता पुगोस् भन्ने हेतुले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागिएको बताए । उनले एम्बुलेन्समा अक्सिजन, भेन्टिलेटर, वीपी मनिटर, आवश्यक औषधि तथा स्वास्थ्यकर्मीसहितको आधुनिक सेवा सुविधा रहेको जनाए ।
‘एम्बुलेन्समा रहने कर्मचारीलाई प्री हस्पिटल केयर अर्थात अस्पताल आउनुपूर्वको प्राथमिक उपचार र आकस्मिक उद्दारका विषयमा प्रशिक्षण प्रदान गरिएको छ,’ उनले भने, ‘एम्बुलेन्समा सबै प्रकारका विरामीलाई ध्यानमा राख्दै औषधि सहितको १२ प्रकारका उपकरण जडान गरिएको छ ।’ उनले शुभलक्ष्मीमा विरामी ल्याउनु परेमा वा बिरामी रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने बताए । उनका अनुसार वीरेन्द्रनगर भ्याली क्षेत्रमा रहेका विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिनका लागि सिधै मोवाईल नम्वर ९८५८०७६८०० र ल्याण्डलाईन ०८३–५२४३१८ मा सम्पर्क गर्न सकिने छ ।